सुधारगृह लैजान खोज्दा युवकको चक्कु प्रहार : दुई प्रहरीसहित तीनजना घाइते
विराटनगर महानगरपालिका–१ अनुकरण मार्गमा एक युवकले प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गर्दा दुई प्रहरीसहित तीन जना घाइते भएका छन्।
आइतबार अपराह्न रामेछाप घर भई विराटनगर–१ मा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिण कार्कीलाई ‘साथीभाइ नेपाल’ सुधारगृह काठमाडौं पठाउने तयारी भइरहेका बेला घटना भएको हो।
प्रहरीका अनुसार कार्कीले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। घटनास्थलमा पुगेका प्रहरी र सुधारगृहका कर्मचारीले उनलाई सम्झाइबुझाइ गरी बाहिर निकाल्ने प्रयास गर्दा उनले ओछ्यानमा लुकाएर राखेको चक्कु झिकेर आक्रमण गरेका थिए।
चक्कु प्रहारबाट सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथीभाइ नेपालका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार तीनै जनाको टाउकोमा चोट लागेको छ।
घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चक्कु प्रहार गर्ने कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।