झापाको सीमा क्षेत्रबाट एक बंगलादेशी नागरिक पक्राउ
झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । आज दिउँसो १२ः४५ बजे मेचीनगर नगरपालिका-६ स्थित गैरीगाउँमा भारत पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ अनधिकृत रुपमा प्रवेश गर्दै गरेको अवस्थामा बंगलादेशी नागरिक पक्राउ परेका हुन् ।
बंगलादेशको राहदानी बोकेका तुलाटोली कचुआ मनोहरपुर –३६३० चाँदपुर बस्ने ३३ वर्षीय मोहम्मद सैफुल इस्लाम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । ती बंगलादेशी नागरिक इस्लामलाई आवश्यक कारबाहीको लागि बसमार्फत अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
भारतको पश्चिम बंगालमा भाजपा सरकार बनेपछि त्यहाँ लुकीछिपी बस्दै आएका बंगलादेशी र रोहिंगिया नागरिकमाथि कडाइ गरेपछि उनीहरू खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न खोजिरहेका छन् । यता झापा प्रहरी प्रशासनले पनि बंगलादेशी र रोहिंगिया प्रवेश गर्न नदिन सीमा क्षेत्रमा उच्च निगरानी बढाएको जनाइएको छ ।