पत्रकार क्षेत्री र श्रेष्ठ पुरस्कृत
नेपाल प्रेस युनियन झापा शाखाको वार्षिक साधारण सभामा दुई पत्रकार पुरस्कृत भएका छन् । साधारण सभामा पत्रकारहरू गोविन्दचन्द्र क्षेत्री र जोस्ना श्रेष्ठ पुरस्कृत भएका हुन् । त्यस्तै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरूको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल प्रेस युनियन पत्रकार अक्षयकोष’ वृद्धिका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान गरेको थियो । नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता तथा प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् यज्ञप्रसाद र शकुन्तला पाठकले दिवङ्गत बाबुआमा टंकप्रसाद रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक गोविन्दचन्द्र क्षेत्री तथा टीकादेवी–कृष्णकुमार सङ्ग्रौलाले स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो विराटमा कार्यरत जोस्ना श्रेष्ठलाई पुरस्कृत गरिएको हो । यसै वर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशि जनही ११ हजार एकसय रुपैयाँ नगद रहेको छ । त्यसैगरी अक्षयकोषका दाताहरू शिव कँडेल, पार्वता खरेल विमली, गङ्गाप्रसाद मैनाली, कृष्ण गिरीलगायतलाई सम्मान गरिएको कार्यक्रममा पुरस्कार अक्षयकोषका दाता यज्ञप्रसाद–शकुन्तला पाठक, टीकादेवी –कृष्णकुमार सङ्ग्रौलालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु थपलियासहितलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सरावगी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष राजवंशी, झापा गाउँपालिका उपाध्यक्ष थपलिया, नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछाने, पुरस्कृत प्रतिभा तथा प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटी, पुरस्कार अक्षयकोषका दाताका तर्फबाट कृष्णकुमार सङ्ग्रौला, प्रेस युनियन पत्रकार प्रोत्साहन अक्षयकोषका दाताका तर्फबाट शिव कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष गिरीराज भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन डिल्लीराम घोर्साईले गरेका थिए ।