उपभोक्तालाई ठगिनबाट जोगाउन नेपाली उपभोक्ता संरक्षणको आग्रह
नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ ले प्रदेश सरकार र स्थानीय सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ताहरूलाई ठगिनबाट जोगाउन आग्रह गरेको छ । शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
स्थानीय सरकारले तत्काल बजार अनुगमन समिति बनाएर स्थानीय स्तरमा अनुगमन गर्नु पर्ने र पसलमा अनिवार्य रुपमा मूल्य सूचि टाँस गर्ने व्यवस्था मिलाउनु पर्ने माग महासंघले गरेको छ । बजारमा पछिल्लो समयमा बेथिति बढ्दै गएपछि महासंघले यस्तो माग गरेको हो ।महासंघ प्रदेश १ का अध्यक्ष नारायण योङहाङ र महासचिव विष्णुप्रसाद पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा स्थानीय सरकारका विभिन्न निर्णयहरू सार्वजनिक भइरहँदा प्रत्यक्ष उपभोक्तासँग सरोकार राख्ने बजार अनुगमन, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण, उपभोक्ता तथा आफ्ना पालिकामा रहने नागरिकहरूसँग प्रत्यक्ष र दैनिक जीवनमा सरोकार राख्ने बजारमा हुने गरेको अस्वाभाविक मूल्यवृद्धि एवं ठगी नियन्त्रणको विषयमा कहीँ कतै निर्णय भएको नपाइएको भन्दै यस विषयमा गम्भीर बन्न आग्रह गरिएको छ ।
उपभोक्ताको हक हित संरक्षण र अधिकारको विषयमा स्थानीय सरकार गम्भीर बन्न आवश्यक छ । पालिका स्तरमा समिति निर्माण गर्दा तथा पालिकाको निर्णयमा आम उपभोक्तासँग सरोकार राख्ने बजार अनुगमन समिति बनाएर प्रभावकारी बजार अनुगमन गर्ने व्यवस्था मिलाउनका लागि हाम्रो अनुरोध रहेको छ, विज्ञप्तिमा भनिएको छ । उपभोक्ता हित सम्बन्धित आवश्यक ऐन तथा कार्यविधि स्थानीय स्तरमा बनाएर लागु गर्न सबै पालिकाहरूसँग महासंघले अनुरोध पनि गरेको छ ।
अहिले प्रदेश १ का अधिकांश जिल्लाहरूमा दैनिक उपभोग्य सामाग्रीहरूको भाउ आकासिएको भन्दै बजार अनुगमन गरेर मूल्य वृद्धि नियन्त्रणका लागि महासंघ प्रदेश १ ले माग राखेको छ । तेल, चिनी लगायतका खाद्य बस्तुहरूको कालोबजारी तथा व्यापारीहरूले आफूखुसी मूल्य लिँदै आएको जनगुनासोहरू आइरहेका छन्, विज्ञप्तिमा उल्लेख छ ।
पसलहरूमा अनिवार्य रुपमा मूल्य सूचि राखिनु पर्नेमा मूल्य सूचि राखिएको पाइँदैन, विज्ञप्तिमा भनिएको छ । प्रदेश सरकार र स्थानीय सरकारले तत्काल बजार अनुगमन गरेर अनिवार्य रुपमा मूल्य सूचि टाँस गराउने व्यवस्था गर्नका लागि जोडदार माग गर्दछौ, महासंघ प्रदेश १ का अध्यक्ष योङहाङ र महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
