२०८३ असार ८ गते , सोमबार

प्रादेशिक पत्रकारिता पुरस्कारबाट झापाका बरालसहित चार पत्रकार पुरस्कृत

sajilo news
झापा
२०७९ जेष्ठ २० गते , शुक्रबार
प्रादेशिक पत्रकारिता पुरस्कारबाट झापाका बरालसहित चार पत्रकार पुरस्कृत

प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट ४ जना अग्रज पत्रकारलाई जनही एक लाख रूपैयाँ नगदबाट पुरस्कृत गरेको छ। यातायात तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार अन्तरक्रिया तथा पुरस्कार वितरण आयोजना गरेर प्रदेश १ का ४ जना पत्रकारलाई पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा धनकुटाका सन्जयसन्तोषी राई, स्मिता निरौला, झापाका लिला बराल र सुनसरीका कृष्णविनोद लम्साललाई मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुरस्कार प्रदान गरे। सञ्चार मन्त्रालयले आयोजना गरेको प्रादेशिक पत्रकारिता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारको स्वतन्त्र दबाब शक्तिको रुपमा पत्रकारको भूमिका सधैं उच्च रहने बताए। उनले प्रतिपक्षी राजनीतिक दलको भूमिकाभन्दा चौथो अंगको दबाब शक्तिशाली हुने बताए। 

मुख्यमन्त्री राईले भने, ‘पत्रकारको भूमिकाले मात्रै लोकतन्त्र बच्न सक्छ।’ सरकारले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिरहेको उनले बताए। उनले पत्रकारिता क्षेत्रको विकासका लागि बजेटले सम्बोधन गर्नुपर्ने विषयलाई सरकारले प्राथमिकता दिने बताए।

प्रदेशका प्रमुख सचिव डा।रामप्रसाद घिमिरेले सरकारका योजना र कार्यक्रम नागरिकसम्म लगेर सेवा लिन उत्साहित गराउन पत्रकारको भूमिका सधैं जरुरी रहने बताए। यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले सरकारका काम नागरिकमुखी बनाउन पत्रकारको विशेष भूमिका हुने बताए। श्रमजीवी पत्रकार प्रदेशको सम्पत्ति भएकाले सञ्चारमाध्यमको तथ्यांक संकलन गरेर त्यसमा आश्रित पत्रकारको अवस्था बुझ्ने उनले बताए।

पुरस्कृतमध्ये सन्जयसन्तोषी राईले सम्मानप्रति आभार व्यक्त गर्दै प्रदेश १ को नामकरण गर्नुपर्ने माग राखे। अन्य प्रदेशले नाम पाउँदा  प्रदेश १ को मात्र नाम र‍ाख्न बाँकी हुनु शोभनीय नभएको उनको भनाइ थियो। थाहाखबरबाट

सम्बन्धित समाचार