बिर्तामोडमा समस्यै समस्याको चाङ
बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा सङ्घसंस्थाका प्रमखहरुसंग शुक्रवार छलफल गरेको छ ।नगरप्रमुख पवित्रा महतारा प्रसाईँ,उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टीकल फाइबर तारहरू चोरी हुने क्रम बढ्दै गएको बताए । उनले पछिल्लो एक महिनाभित्रमा ७ स्थानबाट टेलिकमको तार चोरी हुँदा सेवा अवरुद्ध हुनुका साथै ठुलो नोक्सानी भएको जानकारी दिए । यस्तै उनले इन्टरनेट सेवा प्रदायक संस्थाहरूले विद्युत् तथा टेलिकमका पोलमा आफूखुसी राखेका तारहरू हटाउनु पर्नेमा जोड दिए ।
यस्तै नेपाल विद्युत् प्राधिकरण अनारमनि वितरण केन्द्रका प्रमुख सुधिरकुमार रायले सडक बिस्तार तथा निर्माण गर्दा त्यसभित्र परेका विद्युतका पोलहरू सार्नुपर्ने र त्यसका लागि पूर्व जानकारी नहुँदा बजेट अभावका कारण समस्या भएको बताए । यस्तै उनले पोल स्थानान्तरण गर्दा प्रक्रिया लामो तथा झन्झटिलो हुने भएकोले त्यसको प्रक्रियालाई छोटो बनाउनु पर्नेमा जोड दिए ।
छलफलमा बोल्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बिर्तामोडमा ९६ वटा सिसी क्यामेरा जडान भए पनि गुणस्तरीय कुनै पनि नरहेको बताए । बिर्तामोडमा बाइक चोरीका घटना बढेको भन्दै उनले मुख्य सडकको प्रवेशद्वारमा समेत सिसी क्यामेरा अनिवार्य जडान गर्नु पर्ने बताए । सम्भव भएसम्म नाइट भिजन क्यामेरा जडान गर्नु पर्नेमा उनको जोड थियो । सीमित जनशक्ति र सवारीसाधन बाबजुद पनि प्रहरीले काम गरिरहेको भन्दै उनले बिर्तामोडमा लागू औषधका घटनामा समेत वृद्धि हुँदै गएकाले यसको न्यूनीकरणको लागि विभिन्न कार्यक्रमहरू ल्याउनु पर्ने बताए ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बिर्तामोडमा पार्किङको अभाव रहेकोले यसको व्यवस्थापन गर्नु पर्ने बताए । उनले सडकमा जडान गरिएका सिसी क्यामेरा कमसल भएकै कारण दुर्घटना गराउने व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताए । प्रमुख जवेगुले सडक बत्ती मर्मत तथा जडान गर्नुपर्ने, दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम ल्याउनु पर्ने,फुटपाथ व्यवसायको व्यवस्थापन गर्नु पर्ने जस्ता समस्याका बारेमा अवगत गराए । यस्तै जिल्ला साकोस सङ्घका सचिव यामकुमार चुँडालले सहकारीको माध्यमबाट किसानहरूलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने लगायत सहकारीको माध्यमबाट गर्न सकिने ठोस योजनाहरू बनाउनु पर्नेमा जोड दिए । छलफलमा कृषि सामग्री कम्पनी,साल्ट ट्रेडिङ,प्याव्सन,एन प्याव्सन,मेची यातायात व्यवस्था कार्यालयलगायतका प्रमुख,प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
छलफलका सहभागीहरूलाई धन्यवाद दिँदै नगरप्रमुख प्रसाईँले समस्या समाधानका लागि नगरपालिका गम्भीर रहेको बताइन् । उनले सरोकारवालाहरूको उपयुक्त सल्लाह सुझावका आधारमा आगामी आर्थिक वर्ष २०७९/८०का लागि नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिने बताइन् ।