२०८३ असार ८ गते , सोमबार

कमल गाउँपालिकाद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

sajilo news
झापा
२०७९ जेष्ठ १९ गते , विहीबार
कमल गाउँपालिकाद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

कमल गाउँपालिका र आदिवासी जनजाति रङ्गशाला तथा स्मृति प्रतिष्ठानको संयुक्त प्रतिनिधिमूलक टोलीले प्रदेश एक सरकारले ल्याउने आगामी बजेट तथा नीति कार्यक्रमलाई लक्षित गर्दै जनसरोकारका विभिन्न विषयहरू समेटिएको माग पत्र बुझाएको छ । 

गाउँपालिकाका तर्फबाट अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसंग भेट गरी समसामयिक तथा विकास निर्माणका योजनाहरूलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

सो अवसरमा मन्त्री आङबोले कमलमा प्रदेश स्तरकै आयुर्वेद अस्पताल तत्काल सञ्चालनको तयारी भएको जनाए । उनले सो अस्पतालमा आवश्यक जनशक्तिको दरबन्दी स्वीकृतिमा मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरिसकेका कारण अब सो आयुर्वेद अस्पताल तत्कालै सुचारु हुने सुनिश्चित गरिएको जनाए । उनले सो गाउँपालिकामा पर्ने आदिवासी रङ्गशाला निर्माणका लागि पनि प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

गाउँपालिकाका अध्यक्ष राईले प्रक्रियागत रुपमा अनिवार्य आउने बजेट तथा कार्यक्रमका अतिरिक्त कमल गाउँपालिकामा देखिएको विकासका पूर्वाधारहरू सडक स्तरोन्नति, खानेपानी लगायतका योजनाहरूका लागि अतिरिक्त बजेट निकासाको माग गरिएको बताए ।

सो अवसरमा आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका तर्फबाट महासचिव दिपेनवाला राईले पनि मन्त्री आङबोलाई ध्यानाकर्षण पत्र बुझाए । त्यसैगरी सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयका पनि सरकारी अधिकारीहरुसंग सो टोलीले गाउँपालिका क्षेत्रका विविध विषयमा छलफल गर्दै ध्यानाकर्षण गराएको थियो । प्रतिनिधि टोलीमा कमल ५ का वडाध्यक्ष लालबहादुर विष्ट पनि सहभागी थिए ।

सम्बन्धित समाचार