जन्मदिनको अवसरमा बनियानी चोकमा वृक्षारोपण
कचनकवल गाउँपालिका- ६ स्थित बनियानी चोकको मुख्य हाइवेमा बनाइएको डिभाइडरमा वृक्षारोपण गरिएको छ । स्थानीय युवा निश्चल दाहालले आफ्नो जन्मदिनको अवसर पारेर डिभाइडरमा १०० लन्डन धुपी जातको बिरुवा र २० पारिजात फुलको बिरुवा रोपेका हुन् ।
स्थानीय स्तरमा सामाजिक काममा सदैव अग्रसर रहेका दाहालले आफ्नो गाउँ आफ्नै बनाउने उद्देश्यसहित सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । युएइको बसाइ दौरान गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएइको महासचिव पद सम्हालेका दाहाल, भर्खरै बितेको स्थानीय तह निर्वाचनमा कचनकवल ६ को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका थिए । 'मैले सङ्ख्यात्मक रुपमा चुनावमा हारे पनि, जनमानसमा विकासको बीजारोपण गरेको छु,' उनले भने, 'आधुनिक शिक्षा प्रणाली अवलम्बन गरेको गाउँ बनाउँँदैछु' ।
वातावरण मैत्री पालिका बनाउने अभियानबाट म पछि हट्दिन भन्दै वृक्षारोपण वातावरणीय सचेतनाको लागि गरेको उनले बताए । लक्ष्मी मावि र कचनकवल विद्या मन्दिरका विद्यार्थीहरू लगायत स्थानीय युवा तथा बुद्धिजीवीहरू पनि वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए।
