२०८३ असार ८ गते , सोमबार

‘राइट टर्न’ गर्नुपर्ने विमानले ‘लेफ्ट टर्न’ गर्दा भित्तामा ठोक्किँदा दुर्घटना 

sajilo news
रासस
२०७९ जेष्ठ १६ गते , सोमबार
‘राइट टर्न’ गर्नुपर्ने विमानले ‘लेफ्ट टर्न’ गर्दा भित्तामा ठोक्किँदा दुर्घटना 

प्रतिकूल मौसमका कारण तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए। 

संसद्को अन्तरराष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त जहाजबारे समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर जाँदा भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए। घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने विश्वास उनले दिलाए। 

घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइलको दूरीमा पर्छ। उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सानुसरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो। विमानमा सवार १९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जनाको निधन भएको छ। 

पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको उक्त विमान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो। पाँचवटा हेलिकप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयन्त्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो।

सम्बन्धित समाचार