गोविन्दचन्द्र छेत्रीलाई टंकप्रसाद–रमादेवी स्मृति पत्रकारिता पुरस्कार
नेपाल प्रेस युनियनमा स्थापित टंकप्रसाद–रमादेवी स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष गोविन्दचन्द्र छेत्रीलाई प्रदान गरिने भएको छ । प्रेस युनियनका केन्द्रीय पार्षद् यज्ञप्रसाद पाठक र शकुन्तला पाठकले आफ्ना दिवङ्गत बुबा–आमाका नाममा नेपाल प्रेस युनियनमा स्थापित अक्षयकोष मार्फत छेत्रीलाई पुरस्कृत गर्न लागिएको हो ।
त्यसैगरी टंकप्रसाद र रमादेवीका छोरी ज्वाँई टिकादेवी पाठक र कृष्णकुमार सङ्ग्रौलाद्वारा स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट ज्योस्ना श्रेष्ठलाई पुरस्कृत गरिने भएको छ ।
लोकराज ढकालको संयोजकत्वमा संस्थाका तर्फबाट नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेली र दाता परिवारका तर्फबाट यज्ञप्रसाद पाठक सदस्य रहेको पुरस्कार छनौट समितिको बैठकले छेत्री र श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । छेत्री ४ दशकयता पत्रकारितामा सक्रिय छन् भने श्रेष्ठ एक दशक यता पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।
दाता परिवारले नेपाल प्रेस युनियनमा रहने गरी दुई वटा पुरस्कारका लागि १÷१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिइन् । सोही अक्षयकोषको ब्याज रकमबाट यस वर्षदेखि बर्सेनि रुपमा वितरण गर्ने गरी पुरस्कारको स्थापना गरिएको कोषाध्यक्ष ओमप्रकाश भट्टराईले जानकारी दिए ।
यसैगरी नेपाल प्रेस युनियन झापा शाखाको साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम यही जेठ २१ गतेका लागि तय गरिएको छ ।
अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा आइतबार बसेको बैठकले जेठ २१ गते बिर्तामोडमा संस्थाको साधारण सभा तथा पुरस्कार वितरणका लागि तयारी गरेको सचिव डिल्लीराम घोर्साईले जानकारी दिए ।