झापामा गणतन्त्र दिवस तीन दिन मनाइने, घर–घरमा दीपावली गर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय झापाले गणतन्त्र दिवस तीन मनाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गत जेठ ५ गते बसेको गणतन्त्र दिवस मूल समारोह समितिको निर्णय अनुसार झापामा पनि जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गरी मनाउन लागिएको हो । शुक्रवार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै तीन दिने कार्यक्रम सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्धारा हस्ताक्षरित सूचनामा तीन दिन भव्यताका साथ गणतन्त्र मनाउने भनिएको छ ।
त्यस्तै जिल्लाका सबै सरकारी, सार्वजनिक तथा सामुदायिक संघ÷संस्थाहरूले राष्ट्रिय झन्डा एवम् ब्यानर सजाई कार्यालय र परिसरको सरसफाइ गर्ने, धार्मिक, सांस्कृतिक सम्पदा स्थलहरूको सरसफाइसहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने र सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरू साथै सार्वजनिक महत्त्वका सम्भाव्य स्थलहरूमा दीप प्रज्वलन गर्ने तथा आम नागरिकहरूका घर–घरमा साँझ दीपावली गर्ने सूचनामा जनाइएको छ ।