२०८३ असार ८ गते , सोमबार

प्रेस युनियनको स्थापना दिवस : बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री वितरण

sajilo news
झापा
२०७९ जेष्ठ १३ गते , शुक्रबार
प्रेस युनियनको स्थापना दिवस : बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री वितरण

नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापाले अर्जुनधारा नगरपालिका ६ मा सञ्चालित बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । केन्द्रमा अध्ययनरत बालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीले लोकतान्त्रिक पत्रकारहरूको छाता संस्था प्रेस युनियनको ऐतिहासिक पृष्ठभूमि बताउँदै पत्रकारले लेखनमार्फत हरेक क्षेत्रको विकासका लागि सरोकारवालालाई झकझक्याउने गरेको बताए । बाल शिक्षा सरोकार केन्द्रको वास्तविकता सार्वजनिक गरेर सहयोग र दीर्घकालीन सञ्चालनका लागि कलममार्फत नै सहयोग गर्ने छेत्रीको प्रतिबद्धता थियो ।

उक्त अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र  संरक्षणको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताउँदै उनले  कलमको माध्यमबाट बाल संरक्षण केन्द्रको स्थायित्व , विकास  उन्नतिका लागि आफूहरूले पनि भूमिका खेल्ने बताए ।

युनियन झापा जिल्ला अध्यक्ष इन्दु पूर्वेलीले  युनियनको स्थापना दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै बाल संरक्षण केन्द्रको विकासका लागि कलम मार्फत सहयोग गर्ने प्रतिबद्धता  जनाएकी छिन् । समाचार सङ्कलन, लेखन सँगसँगै सामाजिक एवं सेवा क्षेत्रमा कार्य गर्ने उद्देश्यले सरोकार केन्द्रमा कार्यक्रम राखिएको पूर्वेलीको भनाई थियो ।

प्रदेश पार्षद् ज्ञानेन्द्र निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गरेको कोषाध्यक्ष ओमप्रकाश भट्टराइले जानकारी दिए । कार्यक्रममा युनियनका केन्द्रीय पार्षद् यज्ञ पाठक, रेजिना गौतम , कोषाध्यक्ष ओमप्रकाश भट्टराई, जिल्ला सदस्य  रणदेव हजाम ,शेखर सेढाई, जोस्ना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरू उक्त केन्द्रमा संरक्षित छन् । आवासीय रुपमा रहेका १० बढी बालबालिकालाई सोही केन्द्रमा शिक्षक व्यवस्थापन गरेर अध्यापन गराइँदै आएको छ । सार्वजनिक एवं निजी विद्यालयहरूमा अपाङ्गमैत्री संरचना नहुँदा शारीरिक रुपमा अपाङ्गता भए पनि बौद्धिक रुपमा सबल बालबालिकाहरू शिक्षा लिनबाट वञ्चित हुने देखिएपछि आफूले त्यसैका लागि पहल थालेको अध्यक्ष कृष्ण दुलालले बताए ।

अर्जुनधारा नगरपालिका–६ कप्तानवारि चोक नजिकै रहेको सो केन्द्रको व्यवस्थित सञ्चालनका लागि जग्गाको अभाव रहेको व्यवस्थापन समितिका अध्यक्ष दुलालको भनाई छ । अपाङ्गमैत्री संरचना निर्माणको लक्ष रहे पनि जग्गा अभावका कारण नसकिएको र दीर्घकालीन सञ्चालनको स्रोत नभएको दुलालले बताए ।

सम्बन्धित समाचार