२०८३ असार ८ गते , सोमबार

यौन हिंसाविरुद्ध बिर्तामोड र मेचीनगरमा प्रदर्शन

sajilo news
झापा
२०७९ जेष्ठ ७ गते , शनिबार
यौन हिंसाविरुद्ध बिर्तामोड र मेचीनगरमा प्रदर्शन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै झापाको बिर्तामोड र मेचीनगरमा शनिवार प्रदर्शन गरिएको छ।

दिनानुदिन दिन बलात्कारका घटना बढ्दा समेत सरकारले दोषीलाई कानुनी दायरामा ल्याउन नसक्दा अपराधमा संलग्नहरूको मनोबल बढेको झापाकी संस्कृति रिजालले बताइन् । उनी महिला हिंसा विरुद्ध लामो समयदेखि आवाज उठाइ रहेकी छन् । मुक्ति चोकमा भेला भएका युवायुवतीहरूले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन। बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ। बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धी घटनाको न्याय निरूपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै प्रर्दशनकारीहरुले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन्। विरोध प्रदर्शनमा जिल्लाका विभिन्न स्थानबाट युवायुवतीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मनिता सिटौलाले गरेकी थिइन् ।

त्यसैगरी युवतीलाई फोटो र भिडियोले  ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै मेचीनगरमा बलात्कारविरुद्ध प्रदर्शन गरेको छ । ती युवतीलाई ८ वर्ष अगाडि एक सुन्दरी प्रतियोगितामा भाग लिने क्रममा भएको यौन दुव्र्यवहारबिरुद्ध युवा सञ्जाल मेचीनगरले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै इटाभट्टामा र्‍याली निकालेको थियो । र्‍यालीले मेचीनगर नगरपालिका परिक्रममा गरेको थियो । एक युवतीले आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक गरेकी थिइन । यता प्रहरीले बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डेलाई पक्राउ गरिसकेको छ । 

सम्बन्धित समाचार