२०८३ असार ८ गते , सोमबार

स्थानीय निर्वाचन : झापाका सीमा नाकामा सुरक्षा व्यवस्था कडा

sajilo news
झापा
२०७९ बैशाख २८ गते , बुधबार
स्थानीय निर्वाचन : झापाका सीमा नाकामा सुरक्षा व्यवस्था कडा

स्थानीय तहको निर्वाचनको शून्य समयमा अन्तर्राष्ट्रिय नाका बन्द गरिएकाले सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ । १४४ किलो मिटर भारतसँग खुल्ला सीमा रहेको झापामा सीमावर्ती क्षेत्रमा यतिखेर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनको शून्य समय सुरु भएसँगै झापामा सीमावर्ती क्षेत्रमा सुरक्षा परिचालन गरी कडाइ गरिएको छ । भारतीय सुरक्षाकर्मीको सहयोग समेत लिएर खुल्ला नाकाबाट समेत मानिसको प्रवेश रोक्न विशेष सुरक्षा गस्तीहरू परिचालन गरिएको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीले बताए । भण्डारीका अनुसार काँकडभिट्टा, भद्रपुर, लसुना र गौरीगंजको ४ वटा नाकामा चाहिँ सशस्त्र प्रहरीको गस्तीलाई थप जनशक्ति परिचालन गरी कडाइ गरिएको छ । यस्तै चुनाव केन्द्रित डिआइजी र डीएम स्तरको भारतीय टोलीसँग समेत बैठक सम्पन्न भएकाले निर्वाचनलाई धाँधली रहित, घुस पेट रहित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको र आफूहरूले समेत थप कडाइ गर्ने हुँदा चुनाव शान्तिपूर्वक सम्पन्न गर्न आफूहरू सफल हुने उनले बताए ।

मुख्य नाका काँकडभिट्टाबाट अति आवश्यक ग्याँस, पेट्रोल र एम्बुलेन्सलाई भने प्रवेश दिइएको छ । यस बाहेक कुनै पनि यातायातका साधन र मानिसको आवतजावत गर्न दिइएको छैन । निर्वाचनलाई सुरक्षित र घुस पेट रहित बनाउन सुरक्षालाई विशेष जोड दिइएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । रिजालका अनुसार भूगोल जोखिमका आधारमा आवश्यक सुरक्षा व्यवस्था मिलाई सकिएको छ । तर खुल्ला  सीमा क्षेत्र धेरै भएकाले मानिसहरू लुकिछिपी छिट्टपुट्ट प्रवेश गर्ने गरेको सीमावर्ती क्षेत्रका बासिन्दाले बताएका छन् ।

झापा जिल्ला नेपालको दोस्रो धेरै ६ लाख ४६ हजार २ सय ३४ मतदाता रहेको जिल्ला हो । २ सय ८६ मतदान स्थलको ७ सय ५५ वटा केन्द्रमै सुरक्षा देखि सम्पूर्ण तयारी भइसकेको छ । भोलिसम्म निर्वाचनको केन्द्रमा आवश्यक सम्पूर्ण भौतिक तयारी समेत सम्पन्न हुने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए। भारतीय सीमासँग जोडिएको ६ वटा पालिकाको ५१ मतदान स्थल अति संवेदनशील भएकाले त्यस क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार