भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन झापा बारको अपिल
यही बैशाख ३० गते हुन गइरहेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन नेपाल बार एसोसिएसन झापाले सरोकारवाला सबैसँग अपिल गरेको छ । एसोसिएसन अध्यक्ष हरि अधिकारी र एसोसिएसन आबद्ध सार्वजनिक सरोकार समिति संयोजक वसन्त नेपालद्वारा मङ्गलवार हस्ताक्षरित विज्ञप्तिमार्फत संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सम्पन्न हुन लागेको निर्वाचनमा आम मतदाताले भाग लिने हुँदा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन अपिल गरिएको हो ।
सरोकारवाला निकाय नेपाल सरकार , राजनीतिक दल, उम्मेदवार लगायत सरोकारवाला सबैमा निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न गराउन अपिल गरिएको छ । स्थानीय सरकार जति मजबुत हुन सक्छ त्यति नै लोकतन्त्र संस्थागत हुँदै जाने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा नागरिकको संविधान र कानुन प्रदत्त अधिकारको कार्यान्वयनले मात्र जनताको समृद्धि सम्भव हुने उल्लेख गरिएको छ ।