झापाका ६ पालिकामा निर्वाचन सामग्रीसहित खटिए कर्मचारी र सुरक्षाकर्मी
झापा । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि झापाका मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पठाउन सुरु गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले केन्द्रहरूमा खटाइने मतदान अधिकृतसहितको कर्मचारीको नामावली सार्वजनिक गरेसँगै आजदेखि सम्बन्धी मतदान अधिकृतहरूलाई आवश्यक निर्वाचन सामग्री बुझाइएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए ।
आज पहिलो दिन दमक नगरपालिका, गौरदाह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका र मेचीनगर नगरपालिकाको मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका र आवश्यक जिन्सी सामग्री पठाइएको छ । निर्वाचन सामग्री बुझेका मतदान अधिकृतसहितको कर्मचारीको टोलीले आजै सम्बन्धी मतदान केन्द्रहरूमा पुगेर निर्वाचन सामग्री व्यवस्थापन गरिसकेको जनाइएको छ ।
मतदान केन्द्रहरूमा तोकिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई आजै नियुत्ती पत्र, सुविधा र खर्च पनि दिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
भोलि मंगलबार अर्जुनधारा, बिर्तामोड, कनकाई, भद्रपुर, बुद्धशान्ति, झापा, बाह्रदशी, हल्दिबारी र कचनकवलका मतदान केन्द्रहरूमा आवश्यक सामग्री पठाउने तयारी गरिएको उनले बताए । झापामा २८६ मतदान स्थलमा ७५५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यसमध्ये ५१ अति संवेदनशील, १५२ संवेदनशील र ८३ वटा सामान्य अवस्थाका मतदान स्थल रहेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।
निर्वाचन सामग्री पठाइँदै
झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् । उनले आवश्यक सुरक्षा प्रबन्धसँगै निर्वाचन सामग्री पठाउने धमाधम काम भइरहेको जनाएको छ । कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेर मतदान केन्द्रहरूमा खटाइसकिएको बताउँदै उनले भने, ‘माई वारी र पारी गरेर मतपत्र पठाइँदै छ ।’ झापामा ७ लाख मतपत्र आएको उनको भनाई छ । यस्तै, सबै पालिकाको मतगणना स्थल सुरक्षाका लागि सिसी क्यामेरा जडानको काम सम्पन्न भएको उनको भनाई छ ।
केन्द्रहरूमा सुरक्षाकर्मी खटाइयो
झापाका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए । झापाको २८६ मतदान केन्द्रहरूमा १८ सय नेपाल प्रहरी र २९ सय म्यादी प्रहरीलाई सुरक्षार्थ खटाइएको उनले बताए ।
‘स्थायी ठेगाना भन्दा बाहिरको मतदान केन्द्रहरूमा म्यादी प्रहरी पठाइएको छ,’ उनले भने, ‘हरेक बुथमा तीन जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी सुरक्षा खटाइनेछ ।’ मतदान स्थलमा केन्द्र थपिएको आधारमा एक/एक जना प्रहरी र म्यादीको सङ्ख्या बढाउँदै लैजाने उनले बताए ।
नेपाली सेना र सशस्त्र प्रहरीले मतदान केन्द्रहरूको गस्ती गर्ने उनको भनाई छ । कतिपय सुरक्षाकर्मीहरू मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै मतपेटिका बुझेर मतदान केन्द्रहरू गइसकेको उनले बताए ।