२०८३ असार ८ गते , सोमबार
जलथल जङ्गलबाट निस्किएको अर्नाको आक्रमणबाट भद्रपुरमा एक जना घाइते
भद्रपुरमा अर्ना (जङ्गली भैँसी) को आक्रमणबाट एक जना घाइते भएका छन् । झापाको जलथल जङ्गलबाट निस्किएको अर्नाको आक्रमणबाट भद्रपुर- २ स्थित कमलधाप निवासी कृष्णप्रसाद मिश्र घाइते भएका छन् । उनलाई घाँस काट्न जाने क्रममा अर्नाले आक्रमण गरेको स्थानीय तेज प्रकाश भण्डारीले जानकारी दिए । उनका अनुसार आइतबार बेलुका जङ्गल नजिकैको बस्तीमा अर्ना देखिएको थियो । अर्नाको आतङ्कले जङ्गल आसपासका स्थानीयवासी त्रसित देखिएका छन् । जलथल जङ्गल भद्रपुर, बाह्रदशी, कचनकवल र हल्दिबारी सीमा छोएको जङ्गल हो । यता प्रहरीलाई भने यस बारेमा केही जानकारी नआएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।