पूर्वमा बम आतंक मच्चाउने गिरोहलाई पक्राउ गर्न सफल दुई प्रहरी कर्मचारी पुरस्कृत
पूर्वमा बम आतंक मच्चाउने भूमिगत समूह हिमाल सुरक्षा परिषद्का योजनाकारसहित कार्यकर्तालाई पक्राउ गर्ने दुई जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक राजेन्द्र चौहान र इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हबलदार सम्बर बहादुर तिवारी पुरस्कृत भएका हुन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले नायब निरीक्षक चौहानलाई नगद १२ सय र सहायक हबलदार तिवारीलाई नगद एक हजारले पुरस्कृत गरेका हुन् । गत माघ १० गते झापाको बिर्तामोड बसस्टेण्डमा र त्यस लगतै दमकमा विस्फोटक पदार्थ राख्ने र चैत १४ गते इटहरी २ मा बम विस्फोट गराउने हिमाल सुरक्षा परिषद्का कार्यकर्तालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएको भन्दै दुई जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीले जानकारी दिए ।
दुवैको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गदै प्रहरी नियमावली २०७१ को नियम ११७ को देहाय ९ख० बमोजिम अभिलेखमा नाम दर्ज हुनेछ । यसले दुवैको आन्तरिक मूल्यांकनमा थप सहयोग पुग्ने छ । प्रदेश प्रहरीले पुरस्कृत दुवैको अभिलेख राष्ट्रिय किताब खाना प्रहरी लैनचौर पठाइने जनाइएको छ ।