प्रदेश १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल गठन
आप्रवासीको हकहितका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भइरहेका प्रदेश नं १ का ८ जिल्लाका जिल्लास्तरीय प्रतिनिधिहरूको भेलाले प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल तदर्थ समिति गठन गरेको छ ।
यही बैशाख ५ र ६ गते सम्पन्न भेलाले झापाका लेखनाथ खतिवडाको अध्यक्षतामा २१ सदस्यीय सञ्जाल गठन गरेको हो हाललाई १५ जना सदस्य टुङ्गो लागेको सञ्जालको समितिको उपाध्यक्षमा मोरङका सन्तोष लिम्बु र उदयपुरकी शर्मिला थापा, महासचिवमा उदयपुरका राजकुमार घिमिरे, सचिवमा पाँचथरका भगवत् राई, कोषाध्यक्षमा सुनसरीकी सुनिता मेहता र सदस्यमा मनमाया निरौला, सबिना श्रेष्ठ, संगिता खड्का, फूलमाया श्रेष्ठ, प्रेम श्रेष्ठ, सोनाम लामा, दीपेन्द्र यादव र जिज्ञासा तामाङ रहेका छन् ।
बाँकी रहेको सदस्य पदमा धनकुटा, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र सोलुखुम्बु जिल्लाबाट १÷१ जना थप गरी ६ महिनाभित्रमा अधिवेशन गर्ने भेलाले निर्णय गरेको छ ।
सो भेलामा नेपालका सन्दर्भमा वैदेशिक रोजगार, यसमा रहेका सकारात्मक तथा नकारात्मक पक्षहरू, वैदेशिक रोजगारीसँग सम्बन्धित विद्यमान ऐन, कानुन तथा तिनको कार्यान्वयनको स्थिति लगायतका विषयमा हेल्भेटास नेपालको तर्फबाट सामी परियोजनाका तालिम संयोजक सनत सापकोटा, सामी परियोजना प्रदेश संयोजक कोपिला दाहाल, परियोजनाका कार्यक्रम अधिकृतहरू रामकुमार कर्ण, उमा पौडेल तथा देवनारायण चौधरीले प्रकाश पारेका थिए ।
प्रदेशस्तरमा उद्योग, श्रम तथा रोजगार मन्त्रालयको स्थापना हुनुले अत्यन्त उत्साहित बनाएको बताउँदै सहभागीहरूले प्रदेशस्तरीय सञ्जालले वैदेशिक रोजगारीको निर्णय लिएका, वैदेशिक रोजगारीमै रहेका व्यक्ति तथा आफन्त साथै वैदेशिक रोजगारीबाट फर्किएर समाजमै पुनर्स्थापना हुने चरणमा रहेका, वैदेशिक रोजगारीको क्रममा विभिन्न समस्यामा परेका प्रदेश नं १ का लाखौँ मानिसका लागि काम गर्ने बताएको झापामा सामी परियोजनाको सहजीकरण गरिरहेको संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक फणीन्द्र दाहालले जानकारी दिए ।