भद्रपुरका बाल शिक्षकको आन्दोलनमा सहयोग गर्नेलाई सम्मान
नयाँ वर्ष २०७९ आगमनको पूर्व अवसर पारेर भद्रपुर स्थित बाल विकास शिक्षक संघर्ष समितिले आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने विभिन्न निकायलाई सम्मान गरेको छ ।
बाल विकास शिक्षकका अधिकार स्थापित गराउने क्रममा भएका विभिन्न आन्दोलनमा सहयोग गर्ने शिक्षक महासंघ लगायत विभिन्न संघ, संगठन र सञ्चारकर्मीलाई सम्मान गरेको हो । बाल शिक्षकका लागि यस आर्थिक वर्षमा सरकारले बजेट मार्फत न्यूनतम पारिश्रमिक पन्ध्र हजार तोकेको भए पनि सो अवस्था कार्यान्वयन गर्न भद्रपुर नगर प्रमुखले अस्वीकार गरेपछि एक हप्ते अनसन, धर्ना लगायतको संघर्षका कार्यक्रम गर्दा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यम मार्फत आन्दोलन सफल पार्न बल पुर्याएकोले सफलता मिलेको भन्दै सञ्चारकर्मीलाई सम्मान गरिएको थियो भने शिक्षकसित सम्बद्ध संघ संगठन सहित शिक्षक महासंघ भद्रपुरले महत्त्वपूर्ण भूमिका खेलेको ठहर सहित आन्दोलन सबल भएकोमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीमा नागरिक एफएमका समाचार सम्पादक गोपाल गिरी, साप्ताहिक समाचारका सम्पादक राजबाबु शंकर, कान्तिपुरका अर्जुन राजवंशी र नयाँ सन्दर्भका द्रोण अधिकारी सम्मानित भएका थिए । संघर्ष समितिकी संयोजक तारा मैनालीको अध्यक्षता तथा शिक्षक महासंघ भद्रपुरका अध्यक्ष गणेश गिरीको प्रमुख आतिथ्यमा सम्मानित व्यक्तित्व अग्रज पत्रकार गोपाल गिरी, शिक्षक महासंघ भद्रपुरका सचिव अमर खड्का लगायतले मन्तव्य राख्दै नागरिकको घर छेउको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारले नै राज्यको नीति नमान्ने अराजक परिस्थिति आउनु नहुने भन्दै बाल शिक्षकको पारिश्रमिक समय अनुकूल अझै कम रहेको समेत चर्चा गरेका थिए ।