२०८३ असार ८ गते , सोमबार
चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन जना घाइते
चट्याङ लागेर तेह्रथुममा एक बालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा आठराई गाउँपालिका ६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार अपराह्न साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए ।
त्यस्तै चट्याङ लागेर ५१ वर्षीय दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का शुक्रराज थोप्रा लिम्बू घाइते भएका छन् । उनीहरूको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।