झापाका ५१ वटा मतदानस्थल अतिसंवेदनशील, अझै बुझाएनन् हतियार
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय झापाले निर्देशन दिए पनि कसैले हतियार नबुझाएको प्रहरीले जनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको थियो । प्रशासनले गत चैत ८ गते एक सूचना जारी गर्दै १५ दिनभित्र आ–आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरेको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले १५ दिनभित्रमा हतियार बुझाउन आग्रह गरेपनि प्रहरी समक्ष कसैले हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिने बताइए पनि कसैले हतियार नबुझाएपछि हतियारको विषयमा विवरण संकलनको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी रिजालले पूर्वाञ्चलललाई जानकारी दिए ।
यसैबीच स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहीत ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गरेको जानकारी दिए ।
जिल्लाका १५ पालिकामा रहेका २८६ निर्वाचन स्थल र ७५५ केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अनुगमन गर्न थालिएको उनले बताए । उनका अनुसार झापाका ५१ मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखेर सोही अनुसारको सुरक्षा तयारी शुरु गरिएको छ । त्यस्तै एक सय ५३ मतदान स्थललाई संवेदनशील र ८२ वटा मतदान स्थललाई मान्य गरेर वर्गीकरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले विगतका निर्वाचनका साथै पछिल्लो अवस्थालाई मध्यनजर गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर सुरक्षा प्रवन्ध मिलाउन थलिएको जानकारी दिए । कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्दा अतिसंवेदनशीललाई बढी ध्यान दिने र सामान्य रहेको स्थानमा परम्परागत तरिकाले गर्न सकिने अनुगमनका क्रममा देखिएको प्रजिअ रिजालको भनाइ छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीसहित गएको अनुगमन टोलीले अतिसंवेदनशील स्थान र अन्य स्थानमा सुरक्षा व्यवस्था कसरी गर्न सकिन्छ भन्नेमा अन्यौल नरहेको जानकारी दियो । उनले सकेसम्म निर्वाचनलाई व्यवस्थित गर्ने विषयमा सबै पक्षसंग छलफल र तयारी गरिरहेको बताए ।
यसैबीच झापामा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका निर्वाचन कार्यालयले जनाएको छ । छ लाख ४६ हजार २२५ मतदातामध्ये तीन लाख २१ हजार पाँच सय २० पुरुष र तीन लाख २४ हजार सात सय पाँच महिला मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३६ वटा दल दर्ता भएका छन् ।