सशस्त्र प्रहरीको बीओपी भवन उद्घाटन
नेपाल–भारत सीमा क्षेत्र समालबुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको छ । सूर्योदय नगरपालिका–५ समालबुुङमा निर्माण गरिएको बीओपी भवनको उद्घाटन गरिएको हो । एक वर्षअघि स्थापना गरिएको बीओपीमा भवन नहुँदा समस्या हुँदै आएको थियो ।
नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति कमल गिरीले उद्घाटन गरे । सूर्योदय–५ को समालबुङमा बीओपी स्थापनाका लागि स्थानीयवासी तारादेवी खत्री, मनोजकुमार खत्री, विष्णुकुमार खत्री र टेकबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
सोही जमिनमा भवन निर्माणपछि बस्न सहजसमेत भएको छ । सेवा प्रदान गर्नसमेत सहज हुने बाहिनीपति गिरीले बताए । नेपाल–भारत सीमामा विभिन्न गतिविधि हुने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले एक वर्षअघि बीओपी स्थापना गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार रोङको मेची किनारदेखि सन्दकपुर डाँडासम्म ५२ दशमलव ५ किलोमिटरको १५ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने योजना रहेको छ । हाल सात वटा बीओपी स्थापना भइसकेका छन् भने अब नयाँ आठ स्थानका लागि प्रस्ताव गरिसकिएको उनले बताए।
त्यस्तै केही दिनअघि नेपाल–भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–५ जौबारीमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन उद्घाटन गरिएको छ ।
दुवै स्थानका बीओपीको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले उद्घाटन गरेको हो । सो अवसरमा नायब महानिरीक्षक गिरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले कुनै कन्जुस्याईं नगर्ने बताए । उनले सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा सुरक्षा मजबुत बन्दै जाने विश्वास व्यक्त गरे ।
समालबुङ र जौबारीमा सशस्त्र प्रहरीको ब्यारेक भवन निर्माण गरिएको हो । यसअघि ती क्षेत्रमा सशस्त्र प्रहरी अस्थायी संरचनामा बस्दै आएको थियो । दुवै स्थानमा करिब रु ९५ लाखको लाखमा भवन निर्माण गरिएको हो । त्यस्तै रोङ गाउँपालिकाको सलकपुरमा पनि सशस्त्र प्रहरीको आफ्नै भवन निर्माण भइसकेको छ । अन्य सीमा क्षेत्रमा पनि चाँडै भवन निर्माण गरिने लक्ष्य लिइएको छ ।
सन्दकपुरको जौबारीमा भने गाउँपालिकाले संयोजन गरेर जग्गा उपलब्ध गराएको हो । सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले सशस्त्र प्रहरी सीमा क्षेत्रमा बस्न थालेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती कम भएको बताए ।