बिर्तामोडमा ऊर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिम सुरु
झापाको बिर्तामोडमा आइतबारदेखि ऊर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप सुरु भएको छ । युवाहरूको बढ्दो चासो उद्यमशीलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो विषयमा बृहत् ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।
तालिममा व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चाहने करिब २ सय युवाको उपस्थिति रहेको छ । तालिमको पहिलो दिन मोटिभेसनल स्पिकर रोहित मल्लले सहजीकरण गरे । सोमबार र मङ्गलवारको प्रस्तुति व्यवसायी तथा नायक सन्जोक कोइराला, सोसियल इन्टरपेनर प्रकृति मैनालीको रहने आयोजक ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्टका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए । त्यस्तै चर्चित ¥यापर तथा काठमाडौँबाट मेयरको उम्मेदवारी घोषणा गरेका बालेन शाहसँगको विशेष कार्यक्रम र चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुति समेत रहने छ ।
सेमिनारको मुख्य उद्देश्य युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्ता व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्ने रहेको कार्यक्रमका प्रस्तोता तथा कम्पनीका प्रबन्ध निर्देशक प्रणीत पुडासैनीले जानकारी दिए । साथै स्टाट अप बिजनेस के हो र कसरी गर्न सकिन्छ, सेयर मार्केटको भविष्य कस्तो छ भन्ने विषयमा समेत सेमिनार केन्द्रित रहेको उनको भनाई छ ।