२०८३ असार ८ गते , सोमबार

ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन

sajilo news
झापा
२०७८ चैत्र १४ गते , सोमबार
ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन

झापाको ट्राफिक व्यवस्थापनको सेवा सुरु गरेको ट्राफिक प्रहरीले ४३ वर्षपछि सुविधा सम्पन्न भवन पाएको छ । झापाको बिर्तामोड–५ मा पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै एक करोड ८८ लाख ८५ हजार ५ सय ७५ रुपैयाँको लागतमा ट्राफिक भवन निर्माण भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ४३ वर्षपछि सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न लागेको हो ।

विभिन्न फाँटमा रहेर काम गर्न सकिने गरी १० वटा कोठामा तयार गरिएको भवन अढाई तले रहेको र सो भवन भूकम्प प्रतिरोधात्मक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए । ६ कट्ठा क्षेत्रफलमा फैलिएको ट्राफिक भवनमा ब्यारेक, किचनसहित सबै सेवा एकै ठाउँबाट प्रवाह गरिने प्रहरी निरीक्षक चापागाईँले बताए ।

प्रदेश सरकारले ट्राफिक प्रहरी भवन निर्माणका लागि बजेट उपलब्ध गराएपछि तयार गरिएको भवनको उद्घाटन प्रदेश १का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सोमवार गरेका छन् । नेपाल सरकारको सडक डिभिजन यान्त्रिक कार्यालय मातहतमा रहेको जग्गा जिल्ला ट्राफिक प्रहरी कार्यालयको मातहतमा ल्याई नयाँ भवन निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले लाइसेन्स पाएकै सवारी चालकको लापरबाहीले धेरैजसो दुर्घटना हुने गरेको बताउँदै प्रविधिको अघिकतम् प्रयोगबाट सडक दुर्घटना न्यूनीकरणमा प्रदेश सरकार लागेको उल्लेख गरे । उनले मेचीदेखि कोसीसम्म पहिलो चरणमा सिसी क्यामेरा जडानको काम अघि बढाएको र टेन्डर प्रक्रिया सुरु गरेको जानकारी दिए । मन्त्री कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा कार्य सम्पादनमा प्रदेशकै उत्कृष्ट हुनेमा आफू विश्वस्त रहेको रहेको बताए । उनले सोही अनुरूप काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिए ।

उद्घाटन कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसीले नयाँ भवन निर्माणले प्रहरीको मनोबल उच्च हुने र कार्य सम्पादनमा समेत सहज हुने बताए । सडक सुशासन र दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अगाडि रहेको बताउँदै उनले ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

कार्यक्रममा भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक दिनेशराज मैनालीलाई सम्मान गरिएको थियो । झापामा प्रहरी उपरीक्षकका रुपमा रहँदा उनले ट्राफिक प्रहरीको भवन निर्माणका लागि यान्त्रिक कार्यालयको जमिन व्यवस्थापनका लागि भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै समाजसेवी जयनारायण ढुङ्गाना र उनकी श्रीमती अञ्जना ढुङ्गानालाई समेत सम्मान प्रदान गरिएको थियो । उनलाई मुक्ति चौकमा रहेको ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्गा मन्दिर र ट्राफिकको भवन निर्माणमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

यता मुक्ति चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको भवनलाई एक कट्ठा ६ धुर जमिन प्रदान गर्ने स्वर्गीय शेरबहादुर पोखरेल र कृष्णकुमारी पोखरेललाई मरणोपरान्त सम्मान गरिएको छ । बिर्तामोड निवासी पोखरेल परिवारले तत्कालीन समयमा ट्राफिक भवन निर्माणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । पोखरेल परिवारलाई गरिएको सम्मान स्व। शेरबहादुरका नातिद्वय मिजास र डा. दीपेश पोखरेले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

वाल कम्पाउन्ड तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक वासुदेव खतिवडाले गरेका थिए भने बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १का सचिव कालीप्रसाद रिजाल, झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी रहेको कार्यक्रममा नयाँ भवनको कम्पाउन्ड वाल, गेट लगायतका संरचना निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरूलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार