२०८३ असार ८ गते , सोमबार

अन्तर्राष्ट्रिय बजारको पहिचान सम्बन्धित अभिमुखीकरण तालिम सम्पन्न

sajilo news
झापा
२०७८ चैत्र १२ गते , शनिबार
अन्तर्राष्ट्रिय बजारको पहिचान सम्बन्धित अभिमुखीकरण तालिम सम्पन्न

कनकाई नगरपालिका स्थित  सुरुङ्गामा अन्तर्राष्ट्रिय बजारको पहिचान र नेपाली उत्पादनलाई विदेशमा निर्यात कसरी गर्न सकिन्छ भन्ने विषयमा चार दिवसीय अभिमुखीकरण (तालिम) सम्पन्न भएको छ ।

उद्योग तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निर्यात प्रवर्धन केन्द्र ललितपुरको आयोजना र सुरुङ्गा जेसीजको सहरीकरणमा तालिम सम्पन्न भएको हो ।

व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक सुयश खनालको प्रमुख आतिथ्यमा भएको तालिममा  सुरुङ्गा  जेसीज आबद्ध र स्थानीय स्तरमा व्यवसाय गर्दै आएका, व्यवसाय विषय लिएर अध्ययनरत २५ जनाले सहभागिता जनाएको जेसीज अध्यक्ष सुष्मा न्यौपानेले जानकारी दिए । 

सहभागीहरूलाई व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका उपनिर्देशकहरू सिद्धिचरण दाहाल र राजेन्द्र सिंह ,वरिष्ठ अधिकृत गोविन्द आचार्यले प्रशिक्षण दिएको उपाध्यक्ष रोहित कोइरालाले जानकारी  दिए ।  गत चैत्र ८ गते देखि सुरु भएको तालिममा जेसीजका पूर्व अध्यक्षहरू शिवकुमार कँडेल, सरला दाहाल पोख्रेल  निवर्तमान अध्यक्ष यदुका उप्रेतीलगायत पूर्व अध्यक्षहरूको पनि सहभागिता रहेको थियो । 

 सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा  न्यौपानेको सभापतित्व भएको समापन कार्यक्रममा पूर्व अध्यक्ष कँडेल, सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट मञ्जिता भट्टराई र पङ्कज मेहेताले तालिम अत्यन्तै प्रभावकारी रहेको धारणा राखेका थिए । 

यता प्रमुख अतिथि खनालले नेपाली उत्पादनलाई विदेशमा लगेर कसरी बिक्री गर्ने, व्यापारका लागि उपयुक्त देश कुन हुनसक्छ र कस्ता नेपाली वस्तुहरूको विदेशमा माग बढी छ भन्ने जस्ता सम्पूर्ण जानकारी र सहजीकरण प्रदान गर्न उद्योग तथा आपूर्ति मन्त्रालयले व्यापार तथा निर्यात प्रवर्धन केन्द्र शाखा नै स्थापना गरेको बताए । यस विषयमा जो कोहीले बुझ्न चाहेमा व्यापार तथा निर्यात प्रवर्धन केन्द्रको कार्यालयमा सम्पर्क गर्न सकिने उनको भनाई छ ।

तालिममा  सुरुङ्गा जेसीजका तालिम संयोजक रिसवसिंह चाहारको संयोजकत्व रहेको थियो भने कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीजकी कार्यकारी उपाध्यक्ष मेनुका उप्रेतीले गरेकी थिइन् । 

सम्बन्धित समाचार