भद्रपुरमा स्काउट स्वयम्सेवकहरुलाई तालिम
पछिल्लो केही वर्षयता सुस्ताएको स्काउट गतिविधिलाई क्रियाशील गराउने उद्देश्यले झापाको भद्रपुरमा स्काउट स्वयम्सेवकहरुलाई आवश्यक तालिम प्रदान गरिएको छ ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भद्रपुरको शैक्षिक तालिम केन्द्रमा नयाँ तथा पुराना स्काउटरहरुलाई बीटीसी तथा पिटिसि तालिम प्रदान गरिएको भद्रपुर नगर स्काउट तदर्थ समितिका संयोजक विवेक चौलागाईंले जानकारी दिए । चैत ५ गते शुरु भएको आवासीय तालिम बिहीबार दीक्षान्त समारोहका बिच समापन गरिएको पनि चौलागाईंले जानकारी दिनुभयो ।
सहभागीहरूलाई ४७८ औं बीटीसी कोर्स लिडर तथा १ नं प्रदेश स्काउट तदर्थ समितिका सदस्य अरुण बस्नेत र ३५० औं पिटिसि कोर्स लिडर शिवानी देवानले प्रशिक्षण दिएका थिए ।
समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख तथा स्थानीय स्काउट संरक्षक जीवनकुमार श्रेष्ठ र उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख चन्द्रा श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापनमा स्काउटको राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र धोँजु, १ नं प्रदेश तदर्थ समितिका संयोजक रवि खनाल, राष्ट्रिय प्रशिक्षक शिवकुमार पौडेल, राष्ट्रिय सहायक प्रशिक्षक गङ्गाराम राईलगायतको उपस्थिति थियो । कार्यक्रम स्थानीय स्काउट तदर्थ समितिका सदस्य भगीरथ नेपालले गरेका थिए ।