२०८३ असार ७ गते , आईतबार

कनकाई उद्योग वाणिज्य संघमा लफडा, वरिष्ठ उपाध्यक्षद्वारा निर्वाचन बहिष्कार

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २८ गते , शनिबार
कनकाई उद्योग वाणिज्य संघमा लफडा, वरिष्ठ उपाध्यक्षद्वारा निर्वाचन बहिष्कार
झापा । कनकाई उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाता नामावली सङ्ख्या प्रकरणले विवाद उत्कर्षमा पुगेको छ । मतदाता नामावली सङ्ख्यामा विवाद भएपछि संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । आज बिहान सम्पन्न बैठकमा फरक मत राख्दै वरिष्ठ उपाध्यक्ष उप्रेती संघको आसन्न निर्वाचन प्रक्रियामा सहभागी नहुने बताए ।

निर्वाचन समितिले साधारण सभामा प्रस्तुत भएको विवरण अनुसार मतदाता नामावली प्रकाशन गरेको थियो । पहिले निर्वाचन समितिले १ हजार ५७ जनाको मतदाता नामावली प्रकाशन गरेको थियो । १ हजार ५७ जनाको नाम अस्पष्ट रुपमा प्रकाशित भएको, दर्ता नम्बर नबुझिएको , अक्षरहरू नबुझिएको भन्दै व्यवसायीहरूले स्पष्ट रुपमा नाम प्रकाशित गर्न कार्यसमितिलाई आग्रह गरेका थिए ।


त्यसपश्चात् २३ गते १४ सय १ जनाको नाम प्रकाशित भयो । व्यवसायीले सङ्ख्यामा धेरै फेरबदल आएको भन्दै विरोध जनाए । फेरि निर्वाचन समितिले त्यसलाई पनि फिर्ता गरिदियो । मतदाता नामावलीमा विरोध बढेपछि कार्यसमितिबाट अनुमोदन गरेर दिन निर्वाचन समितिले आग्रह गरेको थियो । सोही दिनदेखि निर्वाचन कार्यक्रम समेत स्थगित गरिएको थियो ।

संघको आज सम्पन्न बैठकले पछिल्लो पटकको नामावली बहुमतको आधारमा निर्वाचन समितिलाई बुझाएपछि अध्यक्षका उम्मेदवार समेत रहेका उप्रेतीले निर्वाचन प्रक्रियामा भाग नलिने भन्दै फरक मत जाहेर गरेका छन् । निर्वाचन समितिले पहिले सार्वजनिक गरेको मतदाता सङ्ख्याभन्दा पछिल्लो सङ्ख्यामा ३४४ जना बढी देखिएको छ । मतदाता नामावली सङ्ख्याको विवादले दुई पटक निर्वाचन कार्यक्रम स्थगित भइसकेको छ ।

यसै सन्दर्भमा निर्वाचन समितिका प्रमुख प्रकाश चुडालले मतादाता नामावली सङ्ख्या फरक–फरक पाएको स्वीकार गरेका छन् । उनका अनुसार फागुन २० गते १०५७ र २३ गते १४०१ जनाको नाम प्रकाशित भएको बताए । दुवै दिन सङ्ख्यामा विवाद भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको छ, चुडालले भने । आज बिहान भएको बैठकले १२२७ मतदाता सङ्ख्या रहेको कार्यसमितिले निर्वाचन समितिलाई जनाएको थियो ।

सो सङ्ख्यामा समेत फरक आएपछि विवाद झन् बढेर गएको छ । कार्यसमितिले मतादाता सङ्ख्या उपलब्ध गराउँदै पिच्छे फरक–फरक भएपछि व्यवसायी र कार्यसमितिमा समेत विवाद चर्किएको छ ।

सम्बन्धित समाचार