२०८३ असार ७ गते , आईतबार
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अभियान, सवारी साधनको अनुगमन थाल्यो
भद्रपुर । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले सार्वजनिक सवारी साधनमा सरकारले तोकेको मापदण्ड पालना भए नभएको बारेमा अनुगमन गरेको छ ।
ट्राफिक प्रहरीसित समन्वय गरी केन्द्रले जेष्ट नागरिक लक्षित सार्वजनिक बसहरूमा आरक्षण सिट र भाडा दरको ५० प्रतिशत छुटको व्यवस्था भए नभएको अनुगमन गरेको हो ।
केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक र सचिव धनप्रसाद सिवाकोटीको नेतृत्वमा समितिका सदस्यहरू, प्रहरी लगायत सरोकारवाला प्रतिनिधिहरूको टोलीले चन्द्रगढी स्थित लेखनाथ चौकमा सार्वजनिक सवारी साधनको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नियम मिच्ने बसका चालक, सहचालकलाई सरकारको निर्णय स्मरण गराएर सचेत समेत पारिएको थियो ।
यसै गरी केन्द्रको कार्य समितिलाई पूर्णता दिन बैठकले डा. टंकप्रसाद बाह्रकोटी, अधिवक्ता भरत प्रसाईँ, पत्रकार खेतीराज घिमिरे र शिक्षा सेवी गोविन्द लम्साललाई सदस्यमा मनोनीत गरेको छ । यस्तै ज्ञानबहादुर चौहान, दुर्गाप्रसाद भट्टराई, टेकबहादुर खड्का काजी, चेतनाथ घिमिरे र देवेन्द्र गौतमलाई सल्लाहकार समितिमा मनोनीत गरिएको सचिव धनप्रसाद सिवाकोटीले जानकारी दिएका छन् ।