२०८३ असार ७ गते , आईतबार

विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई एक लाख एक हजार सहयोग घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २४ गते , मंगलबार
विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई एक लाख एक हजार सहयोग घोषणा
झापा । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनाल तथा बुध खनालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
मङ्गलवार आफ्नो विवाहको ६० औं वर्षगाँठको समारोहमा खनाल दम्पतीले उक्त घोषणा गरेका हुन् ।
खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । ०१७ साल फागुन २४ गते बुध भट्टराईसँग वैवाहिक सम्बन्धमा जोडिएका खनालले ३२ वर्ष निजामती सेवामा रही अवकाशपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । उनका तीन छोरा दीपक अस्ट्रेलिया तथा रूपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।
सहयोग घोषणा समारोहमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवा, महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईँ, कार्यसमिति  सदस्य विनोद पाण्डे, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा, युवा नेता सन्तोष उप्रेती लगायतको सहभागिता थियो ।
खनालले विवाह उत्सवमा परोपकारी काम गरौँ भन्ने भावनाले  पत्रकारको दिगो हितमा योगदान गर्न र अरूलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गर्न लागेको बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

सम्बन्धित समाचार