काँग्रेसले माग्यो कचनकवल गाउँपालिकासँग ५ बर्षे कामकाजको यकिन तथ्यगत खर्च विवरण
झापा । नेपाली काँग्रेसले कचनकवल गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको ठहर गर्दै ५ बर्से कार्यकालको सबै कामकाजको तथ्यगत खर्च विवरण माग गरेको छ ।
काँग्रेस कचनकवल गाउँ समितिका सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमलाई सोमबार ज्ञापनपत्र बुझाउँदै ५ वर्षे अवधिमा गरिएका सबै कामकाजको यकिन तथ्यगत खर्च विवरण माग गरेका हुन् ।
गाउँपालिकालाई बुझाएको ९ बुँदे माग पत्रमा कृषि, पर्यटन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कोरोना रोकथाम तथा उपचार खर्च, रोजगारी लगायत भौतिक पूर्वाधार विकास निर्माणका लागि गरिएका सबै खर्च र प्राप्त आम्दानीको तथ्यगत विवरण माग गरिएको छ ।
गाउँपालिका नेतृत्वले पारदर्शी खर्च गर्न नसकेको तथा जनताका पक्षमा काम नभएका कारण पटक–पटक सचेत गराउँदा समेत अटेर गरेपछि ५ वर्षे खर्च विवरण माग्न बाध्य भएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि भूमिप्रसाद राजवंशीले जानकारी दिए । पछिल्लो समय गाउँपालिका नेतृत्वले विकासमा समेत विभेद सिर्जना गरी कार्यकर्ता भर्ती केन्द्र बनाएर गाउँपालिकाको आर्थिक दोहन गरिरहेको काँग्रेसको आरोप छ ।
विभिन्न लोभ र लालचमा पार्दै स्थानीयलाई भोट बैंक बनाउन गाउँपालिका नेतृत्व लागिरहेको भन्दै विपक्षी काँग्रेस लगायतका अन्य दलहरू पनि विरोध गरिरहेका छन् । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित राप्रपाको बहुतम छ ।
यस्तो छ माग पत्र
गाउँ सभापति अधिकारी हस्ताक्षर गरिएको माग पत्रमा भनिएको छ–‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रो पार्टी नेपाली काँग्रेसको आदर्श हो । यही आदर्श प्राप्तिका लागि नेपाली काँग्रेस पार्टीले स्थापना कालदेखि नै अनवरत रुपमा सङ्घर्षशील रहेको सर्वविदितै छ । नेपाली जनताको अधिकार प्राप्तिको निमित्त विभिन्न कालखण्डमा भएको राजनीतिक क्रान्ति र आन्दोलनको परिणाम स्वरूप प्राप्त भएको लोकतन्त्रको प्रतिफल सबै नेपालीको घरदैलोमा पुर्याउने विषयमा हाम्रो पार्टी सदैव क्रियाशील र चिन्तनशील रहेको छ ।
पछिल्लो समयमा २०६२/०६३ को आन्दोलन पश्चात् सो आन्दोलनले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै नेपाली जनताले अपनत्व महसुस गर्ने संविधान सभाबाट संविधान निर्माणमा सहयात्री विभिन्न राजनैतिक दलको साथ लिँदै उक्त संविधान निर्माणमा पनि महत्त्वपूर्ण भूमिका नेपाली काँग्रेसले नै निर्वाह गरेको स्मरण गराउँदछौँ । सङ्घीयता सहितको संविधान र सो संविधानले प्रदान गरेको हक र अधिकारको रक्षा गर्नु नेपाली काँग्रेसले आफ्नो प्रमुख कर्तव्य ठान्दछ ।
यसै पृष्ठभूमिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था सुनिश्चित गर्दै वर्तमान संविधान निर्माण पश्चात् भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनुभएको स्थानीय जनप्रतिनिधिको कार्यकाल पनि ५ वर्ष पूरा हुन गइरहेको छ । निर्वाचित जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकाल हुन लाग्दा पनि नेतृत्व तहले यस कचनकवल गाउँपालिकामा पालिकाको सर्वाङ्गीण विकासका लागि अपेक्षाकृत काम गर्न नसक्दा हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो । नेपाली जनताको बलिदानपूर्ण आन्दोलनबाट हासिल भएको वर्तमान संवैधानिक व्यवस्थालाई संस्थागत गर्न प्रतिपक्षमा रहेका बखत समेत जिम्मेवार, शालीन र रचनात्मक ढंगले प्रस्तुत हुने पार्टीको मान्यता र संस्कारबाट हामी दीक्षित छौँ । यसैबाट प्रेरित भई यस गाउँपालिकामा भएका व्यापक जनगुनासामा समेत हामीले विरोधको स्वरलाई धिमा बनाएका हौँ ।
तर अत्यन्तै सम्मानजनक मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेको हाम्रो पार्टीको सदाशयतालाई सम्भवतः कमजोरी ठानी वडाको बजेट विनियोजन एवं विकास निर्माण लयागतको कार्यमा समेत आफ्नो आवधिक जिम्मेवारी पूरा नगरी यस स्थानीय सरकारले दलगत स्वार्थबाट प्रेरित भई गम्भीर त्रुटि गरेकोले एक प्रमुख प्रतिपक्षको जिम्मेवारीलाई रचनात्मक तर सशक्त ढंगले निर्वाह गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौँ । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक, धारा २७ को सूचनाको हक “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ ।’ भन्ने व्यवस्था सुरक्षित भए बमोजिम एक जिम्मेवार प्रतिपक्षको हैसियतले हामीले नेपाली काँग्रेस पार्टीको तर्फबाट यस पालिकाले आफ्नो कार्यकालमा भए गरेका निम्न लिखित कार्यहरूको विवरण र बजेट विनियोजनको पूर्ण विवरण माग गर्दछौँ ।
बुँदाहरू
(१) कृषि : यस गाउँपालिकाको अधिकांश मानिसको जीविकोपार्जनको मूल आधार कृषि पेसा नै हो । किसानको समस्या समाधानको मुख्य निकाय गाउँपालिका नै भएको हुँदा भोक र रोगबाट ग्रसित यस गाउँपालिकामा कुन–कुन वडामा कृषि प्रयोजनका लागि कृषि औजार, मल, बिउँ, विजन, सिचाईकन लागि ट्युबवेल, मोटर, वोर्डिङ्ग आदि कति कृषकहरूलाई कुन–कुन कार्यक्रम अन्तरगत कति रकम विनियोजन भयो ? सो को पूर्ण विवरण माग गर्दछौँ ।
(२) मठ, मन्दिर, गुम्बा, मस्जिद : धार्मिक सहिष्णुता रहेको यस गाउँपालिकामा धर्म संस्कृति संरक्षण हेतु कुन–कुन गुरुकुल, मदरसा, गुम्बा र मठमन्दिरमा कति बजेट विनियोजन भयो ? सो को विवरण माग गर्दछौँ ।
(३) नेपालको होचो स्थान कचनकवल यस गाउँपालिकाको सौभाग्य हो । उक्त स्थानमा बर्सेनि डोजरले खनेको मात्र देख्न पाइन्छ तर प्रगति शून्य देखिन्छ । उक्त स्थानमा यस ५ वर्षमा कुन–कुन निकायबाट कति बजेट लगानी भयो ? सो को पूर्ण विवरण माग गर्दछौँ ।
(४) कोभिड–१९ राहत सम्बन्धमा : केही समय अघि कोरोनाको महामारीबाट विश्व आतङ्कित बन्यो, त्यसैको प्रभाव नेपाल र नेपालीमा पनि देखियो । जोखिम उच्च बन्दै गएपछि राज्यले क्वारेनटाइन व्यवस्थापन गाउँपालिकालाई सुम्पियो । उक्त समयदेखि विभिन्न कालखण्डमा जनताको प्रत्यक्ष वा अप्रत्यक्ष करबाट अथवा राज्यको अनुदानबाट प्राप्त रकम मध्ये राहत बापत उक्त क्षेत्रमा जम्मा कति खर्च भयो ? सो को पूर्ण विवरण माग गर्दछौँ ।
(५) कचनकवल गाउँपालिकामार्फत कचनकवलबासीलाई ग्यास र चुलो वितरण हुन्छ भन्ने बेला बेला सुन्ने गरिन्छ, यो कति सत्य हो रु प्रस्ट गरिपाऊँ । यदि हो भने उक्त शीर्षकमा यस वर्ष कति घरधुरीमा कति सङ्ख्यामा वितरणको लक्ष्य लिइएको छ ? लक्षित वर्गको छनौट प्रक्रिया के कस्तो हुनेछ ? यो शीर्षकमा कति बजेट विनियोजन गर्ने वा भएको छ ? यसको आधिकारिक जवाफ माग गर्दछौँ ।
(६) नयाँ रोजगारी सिर्जना गर्नुभन्दा पनि भएका सङ्घसंस्थामा आवश्यकता भन्दा बढी गाउँपालिकाको श्रोत र साधनको दुरुपयोग हुने गरी दलगत स्वार्थबाट गाउँपालिकाको व्ययभार बढ्ने गरी गरिएका नियुक्तिहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी गरिएका नियुक्तिहरू यस गाउँपालिका भित्र के कति भएका छन् ? सो बापत उपलब्ध गराइँदै आएको पारिश्रमिक कुन मापदण्डमा कुन कुन स्रोतबाट उपलब्ध गराइँदै छ ? सो को पूर्ण र स्पष्ट विवरण माग गर्दछौँ ।
(७) विकास निर्माणका कार्यक्रमहरू छनौटमा वडा स्तरबाट छनौट भई आएका विकास निर्माणका कार्यहरूलाई प्राथमिकता दिनुको साटो पालिकाले वडालाई उपेक्षा गरी पालिकाबाटै इच्छाएको व्यक्ति तथा समूहलाई सोझै वितरण गरिएको भन्ने व्यापक जनगुनासाहरू प्राप्त भएका छन् । विधि र प्रक्रिया मिचेर गरिने यस्ता खालका क्रियाकलाप जिम्मेवार पक्षबाट किन भइरहेको छ रु यसप्रति जिम्मेवार हुन आग्रह गर्दै यस ५ वर्षमा कुन कुन वडामा कृषि, पर्यटन, शिक्षा, विद्युत्, स्वास्थ्य, सञ्चार, यातायात, खानेपानी जस्ता महत्त्वपूर्ण योजनाका पूर्वाधारहरू कति सुरुवात वा सम्पन्न भए ? यस ५ वर्षमा कचनकवलवासीले गर्व गर्न योग्य उदाहरणीय कार्य के–के भए ? सो को स्पष्ट विवरण माग गर्दछौँ ।
(८) गाउँपालिकाको केन्द्रको विषयमा विभिन्न राजनैतिक दलहरूले फरक मत राखी गाउँपालिकाको ध्यानाकर्षण गराउँदा गराउँदै पनि गाउँपालिकाको एकल निर्णयबाट व्यक्तिगत स्वार्थ तथा पारिवारिक आर्थिक उन्नतिलाई मात्र ध्यानमा राखी कचनकवलको सात वटै वडाहरूलाई अनुकूल पर्ने स्थानलाई छोडी राय, सल्लाह र सहमति बेगर नै स्थान तय गरी सुरुवात गरिएको संरचनाको स्रोत, ठेक्का प्रक्रिया, लागत, कार्य सम्पन्न हुने समयको बारेमा कचनकवल गाउँपालिकाका बासिन्दाहरू पूर्ण अनविज्ञ रहेको हुँदा सो को विस्तृत जानकारी माग गर्दछौँ ।
(९) बडो झोडा पुलबाट पूर्व झोडा जोडिएको सडकको कालोपत्रे एक वर्ष पनि नपुग्दै भत्किएको देखिन्छ । सो सडकमा कुन श्रोतबाट, कति लागतमा, कुन ठेकेदार मार्फत कार्य सम्पन्न भयो ? उक्त सडकप्रति गाउँपालिकाको ध्यान किन नपुगेको हो ? सो सडकको यस्तो दुरावस्था बनाउने ठेकेदार तथा अनुगमन पक्षलाई गाउँपालिकामार्फत के कस्तो कारबाही प्रक्रिया अघि बढाइयो ? सो को स्पष्ट विवरण माग गर्दछौँ ।
अन्तमा माथि उल्लेखित मागहरूप्रति एक जिम्मेवार स्थानीय तहको जिम्मेवार जनप्रतिनिधिको तर्फबाट एक नागरिकले पाउने सूचनाको हकलाई आलटाल गर्न नखोजी, नजर अन्दाज नगरी आवश्यक सत्य–तथ्य सूचना यथाशीघ्र जनतासमक्ष राखिदिन समेत जोडदार माग गर्दछौँ ।