२०८३ असार ७ गते , आईतबार

प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २३ गते , सोमबार
प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित
झापा । सामाजिक न्याय, हिंसा न्यूनीकरण एवं समाज रूपान्तरणका लागि क्रियाशील सामाजिक संस्था मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ ।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उनको निवासमै पुगेर बुहारीहरूको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काँग्रेस झापाका सदस्य रमेश पोखरेल, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, राप्रपा नेपालकी नेतृ एवं आयोजक संस्थाकी सल्लाहकार राधा कार्कीसहित बुहारीहरूको समूहले थपलियालाई सम्मान गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रमेश पोखरेलले हर्षकुमारी आमाहरूको सिद्धान्तप्रतिको निष्ठा, प्रजातान्त्रिक शासन व्यवस्थाको अटल चाहना र निरंकुशताको अन्त्यका लागि निष्ठापूर्ण आन्दोलनकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताउँदै राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्नेमा जोड दिए । 
नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीले लगभग सात वर्षकै उमेरदेखि राजनीतिक चेत भएकी हर्षकुमारीले गरेको संघर्षको कथा, पद र प्रतिष्ठाको मोह नराखी गरेको संघर्ष आजका पुस्ताका लागि प्रेरणा र ऊर्जाको स्रोत हुने बताउँदै उनको सम्मानले समस्त प्रजातन्त्रवादीहरूको सम्मान हुने धारणा राखिन् । 
झापा अध्यक्ष शिखा खड्का गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा सीमा अधिकारीले स्वागत एवं कविता थापाले सञ्चालन गरेकी थिई । यमु शर्मा सुब्बा र चन्द्रा काफ्लेले नेतृत्व गरेको बुहारी आवाजमा हजारौँ बुहारीहरू आबद्ध छन् ।

को हुन हर्षकुमारी 
 
बुवा रणबहादुर डाँगी र आमा इन्द्रछाँयाका कोखबाट वि.सं. १९९३ सालमा तेह्रथुम जिल्ला आठराईको ह्वाकुमा जन्मिएकी हर्षकुमारी लगभग ७ वर्षकै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागी भइन् । 
राणा विरोधी आन्दोलनका क्रममा प्रजातन्त्रवादी योद्धा लीलाबहादुर थपलियासँग वैवाहिक बन्धनमा बाँधिएपछि पनि निरन्तर सङ्घर्षरत हर्षकुमारी जीवनभर कुनै पद र प्रतिष्ठामा पुगिनन् ।
प्रजातान्त्रिक आन्दोलनप्रतिको अटुट निष्ठा र त्यागका कारण जेल, नेल, निर्वासन र सर्वस्वहरणसम्मको यातना भोगेर पनि प्रजातान्त्रिक समाजवादप्रति उनले देखाउनुभएको समर्पण र त्यागका कारण प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धाको रुपमा उनी परिचित छिन् ।
सात वर्षकै उमेरदेखि डोकामा माइक बोकेर तेह्रथुम, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लामा प्रजातान्त्रिक शासन व्यवस्थाको सूचना प्रवाह गर्दै प्रजातन्त्र प्रेमीहरूलाई संगठित गर्ने उनी अहिले अशक्त अवस्थामा हुनुहुन्छ । 

सम्बन्धित समाचार