२०८३ असार ७ गते , आईतबार
भद्रपुरका वडा अध्यक्षविरुद्ध वडा कार्यालयमा तालाबन्दी
भद्रपुर । भद्रपुर नगरपालिका ९ नम्बर वडा अध्यक्ष शनिलाल राजवंशीलाई अदालतले दोषी प्रमाणित गर्दा समेत वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली काँग्रेसले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
विदेशी नागरिकलाई अनधिकृत नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको प्रमाणसहित वडाध्यक्ष राजवंशीलाई दोषी ठहर गरेर झापा जिल्ला अदालतले मङ्सिर १३ गते कैद र जरिवाना तोकेर फैसला गरेको भए पनि वडाको कामकाजमा राजवंशी निरन्तर रहेपछि काँग्रेस भद्रपुरले तालाबन्दी गरेको हो ।
वडा सभापति चेतनाथ भट्टराईको नेतृत्वमा गएको काँग्रेस समर्थक नेता कार्यकर्ताको टोलीले सम्मानित अदालतको आदेश पालना गरेर विधिको शासनमा रहनु पर्ने अवस्थाको विपरीत वडाध्यक्ष राजवंशीले वडा कार्यालयमा काम कारबाही गर्नु अदालतमाथि अपमान भएको भन्दै तालाबन्दी गरेका थिए । तालाबन्दी कार्यक्रममा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल, क्षेत्रीय प्रतिनिधि लावण्य पोखरेल, पूर्व वडा सभापति गोपालप्रसाद श्रेष्ठलगायतले समर्थन गर्दै न्यायपालिकाको फैसला अनुसार वडाध्यक्ष चल्नु पर्ने अडान राखेका छन् ।
यता वडाध्यक्ष राजवंशी भने अदालतको फैसला बारेमा कहीँबाट आफूलाई लिखित प्रमाणित जानकारी नभएको भन्दै काम कारबाही नरोक्ने बताउँछन् ।