२०८३ असार ७ गते , आईतबार

आज फागुन २१ : जेल सार्ने बहानामा क्रान्तिकारी योद्धाको हत्या भएको दिन

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २१ गते , शनिबार
आज फागुन २१ : जेल सार्ने बहानामा क्रान्तिकारी योद्धाको हत्या भएको दिन

                           ‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’

झापा । ४९ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’ का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ ।

वि. सं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।

सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।

संक्षेपमा महान् शहीदको जीवनी :

रामनाथ दाहाल

तेह्रथुम जिल्ला आठराईको इवा भदौरेमा जन्मनु भएका रामनाथ दाहाल २०१७ सालदेखि झापाको चारपानेमा बस्न थालेका थिए । उनलाई सानैदेखि किसानमाथि हुने अन्याय असह्य हुन्थ्यो ।

उत्पीडनमा परेका किसानका धान काट्न र थन्काउन सहयोग गथ्र्यो। उनलाई सामन्तहरुले २०२६ सालमा मुद्दा हालेका थिए । त्यसैले २०२७ बैशाखमा गिरफ्तार गरी उनलाई ३ महिना थुनामा राखिएको थियो ।

३२ वर्ष उमेरमा पछिल्लोपटक रामनाथ आफ्नै घरबाट पक्राउ परेको पुगनपुग ३ महिनापछि सुखानीमा मारिए । उनी ठट्यौली पारामा भन्थे– ‘आन्दोलन सफल भएर सरकार बनाइयो भने मचाहिँ मन्त्री बन्दिनँ । तिमीहरुको ड्राइभर बनुँला ।

किनभने ड्राइभर सही नभए गन्तव्यमा पुगिन्न ।’ जुन राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’ मा उल्लेख गरे । रामनाथको परिवारमा जेठी पत्नी जानुका ओली दाहालतर्फ चार छोरी र दुई छोरा हुन् । एक छोराको निधन भइसकेको छ । कान्छी पत्नी विश्वेश्वरा उप्रेती दाहालतर्फ दुई छोरा छन् ।

नेत्र घिमिरे

नेत्र घिमिरेको जन्म २००३ सालमा तेह्रथुम आठराईमा भएको थियो । पछि झापाको गरामनीमा बसाइँ सरे । उनी विद्यालय अध्ययनपछि २०२४ सालमा मेची क्याम्पस भद्रपुरमा भर्ना भए र क्याम्पसमा प्रगतिशील विद्यार्थी आन्दोलनमा होमिए ।

२०२६ देखि पार्टीमा पूर्णकालीन भई काम गर्न थाले । उनी २०२९ पुस १४ गते गरामनीमा सुराकीबाट पक्राउ परेका थिए । उनको परिवारमा पत्नी जीवन घिमिरे हाल काठमाडौँ चाबहिलमा बस्थे भने उनका दुई छोरी छन् । उनका दाजुभाइ धर्म घिमिरे र देवी घिमिरे पनि विद्रोहमा सहभागी भएका थिए ।

वीरेन राजवंशी

वीरेन राजवंशीको जन्म २००२ सालमा झापा चन्द्रगढीमा भएको थियो । उनकी पत्नी बुबाआमाकी एक मात्र छोरी थिए, जसले गर्दा विवाहपछि उनको परिवार ससुराली गाउँ अर्थात् झापाकै ज्यामिरगढीमा रह्यो ।

उनी मलाया पनि गए र त्यहाँका कम्युनिष्टबाट प्रभावित भए । २०२६ सालदेखि उनी राजनीतिमा सकृय भए । उनी चन्द्रगढी छेउबाट २०२९ मंसिरमा पक्राउ परेका थिए । उनकी पत्नीको निधन भइसकेको छ भने दुई छोरामध्ये एक छन् ।

कृष्ण कुइँकेल

कृष्ण कुइँकेल २०११ सालमा गरामनी झापामा जन्मिएका थिए । उनी नेत्र घिमिरेबाट प्रभावित थिए । पार्टीमा २०२७ सालदेखि संगठित भएका थिए । उनी २०२९ साल माघ १ गते पक्राउ परे । कृष्ण कुइँकेल अविवाहित थिए । 

नारायण श्रेष्ठ

नारायण श्रेष्ठ उच्च मध्यम परिवारमा जन्मिएका थिए । यद्यपि शोषित र उत्पीडित जनसमुदायको पक्षमा लड्ने प्रण गरेका थिए । उनी सहिद कृष्ण कुइँकेलका अनन्य मित्र थिए । नारायण श्रेष्ठको पनि विवाह भएको थिएन । कृष्ण र नारायण दुवैले एससलसी पास गरिसकेका थिए । दुवै पश्चिम झापाबाट पक्राउ परेको हो । 

सम्बन्धित समाचार