२०८३ असार ७ गते , आईतबार
मेची राजमार्ग खन्दै छोड्दै, दुर्घटना हुने जोखिम बढ्यो
इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काम लापरबाहीपूर्वक हुँदा मेची राजमार्गमा क्षति पुग्न थालेको छ । फाइबर बिछ्याउँदा सडकमा भएको क्षति टेलिकमले नै मर्मत गर्ने सम्झौता भए पनि सडक खनिएर त्यसै छोड्दा राजमार्गका घुम्ती र मोडहरूमा सवारी दुर्घटनासमेत बढेको हो । तीन वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिछ्याउने काम सुरु भएको थियो । राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण कम्पनीले राजमार्गमा नाला र मोडहरूमा खाल्टो खनेर छोड्दा सडकमा क्षति पुगेको हो ।
झापाको चारआलिबाट पाँचथरको फिदिमसम्म अहिले फाइबर बिछ्याउने काम भइरहेको छ । दक्षिण कोरियाको निर्माण कम्पनीले फाइबर बिछ्याउने कामको ठेक्का पाएपनि साइडमा नेपाली व्यवसायीले काम गर्दै आएका छन् । झापाको चारआलीदेखि इलाम बजारसम्मको ७५ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउन एकै पटक नाला खनेर छोडिएको थियो । जसले गर्दा बर्सातमा सडक धेरै क्षति पुगेको थियो । फाइबरको काम लापरबाहीपूर्वक हुँदा सडक धस्सिने भत्किएपछि दुर्घटनासमेत बढेको रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले बताए ।
दुई वर्षमा सक्ने गरी अप्टिकल फाइबर बिछ्याउने काम कोइयन कम्पनीलाई नेपाल टेलिकमले २०७५ सालमा ठेक्का दिएको थियो । काम गर्ने कम्पनीले राजमार्गको नाला खनेर छोड्दा अधिकांश सडकमा पानी सिपेज भएर क्षति पुगेको छ । अहिले ठाउँ ठाउँमा नाला पुरिए पनि राजमार्गको मोडहरूमा फाइबर क्रसिंग गर्दा खनिएको खाल्टा त्यसै छन् । राजमार्गका मोडहरूमा खनिएको खाल्टा अहिले साना सवारीसाधनका लागि धराप बनेका छन् । घुम्ती र मोडहरूमा सडक खनिएर छोडिएकाले तत्काल मर्मत गर्न टेलिकमलाई पत्राचार गरिएको डिभिजन सडक इलामका प्रमुख विदुर पोख्रेलले बताए ।
सडक डिभिजन इलामले राजमार्गमा फाइबर बिछ्याउन अनुमति दिनु अघि निर्माण कम्पनीबाट धरौटी रकमसमेत लिएको छ । तर नेपाल टेलिकम र सडक विभागबिचको सम्झौतामा निर्माणका क्रममा भत्किएको सडक टेलिकमले नै मर्मत गर्ने उल्लेख छ ।