महासंघ अध्यक्ष गिरीद्वारा पत्रकार उपचार कोषलाई २५००० प्रदान
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बुधवार पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत असोज १८ गते आफ्नो जन्मोत्सवको अवसर पारेर गिरीले कोषमा सहयोगको घोषणा गरेका थिए ।
महासंघ झापाका अध्यक्ष गिरीले कार्यालय परिसरमा कोषाध्यक्ष रञ्जित प्रसाईँलाई उक्त रकम प्रदान गरेका हुन् । कोषका लागि नगद रकम हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्षद्वय केशव भट्टराई र सुशीला सङ्ग्रौला, कार्यसमिति सदस्य सन्तोष शर्मा र फोनिज झापाका पूर्व अध्यक्ष तथा महासंघको अनुशासन समितिका सदस्य गणेशमान मुखियाको सहभागिता थियो ।
अध्यक्ष गिरीले पत्रकारको दिगो हितमा योगदान गर्न र अरूलाई पनि सहयोगका लागि प्रेरित गर्न रकम प्रदान गरेको बताए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
कोषको ब्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।
आफू झैँ अरूले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृ स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने गिरीले बताए ।
महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैङ्क तथा दाता सबैलाई एक पटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । आफ्नै सामाजिक सुरक्षाका लागि स्थापित उपचार कोषमा सहयोग गर्न अध्यक्ष गिरीले इच्छुक पत्रकारलाई पनि आग्रह गरेका छन् ।