२०८३ असार ७ गते , आईतबार
सुरुङगा जेसीजले दियो सामाजिक गतिविधिलाई तीव्रता
झापा । सुरुङगा जेसीजले सामाजिक गतिविधिका कामलाई तीव्रता दिएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तीव्रता दिइएको हो । यसैक्रममा जेसीजले विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
कनकाई–७ स्थित एकान्त टोल स्थित मेयर आवासमा रहेका अति विपन्न वर्गका ३६ जनाभन्दा धेरैलाई न्यानो कपडा वितरण गरिएको संस्थाका महासचिव राजु पाठकले जानकारी दिए । त्यस्तै सुरुङगा जेसीजको सभा हलमा अति विपन्न वर्गहरूका लागि ब्ल्याङकेट वितरण गरिएको छ । जेसीजले ३० जनाभन्दा बढी परिवारलाई उक्त सामग्री प्रदान गरिएको अध्यक्ष न्यौपानेले बताइन् । जेसीजले आफ्ना सदस्यहरूको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ ।
जेसीज हलमा सम्पन्न कार्यक्रममा जेसीज सदस्य तथा ननजेसीज गरी करिब ५० जनाको सहभागिता रहेको थियो । जेसीजले सामाजिक कार्य अन्तर्गत अर्जुनधारा–१ स्थित श्री शङ्कराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरूका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै सुरुङ्गा जेसीजले विभिन्न सामाजिक कामलाई तीव्रता दिइरहेको छ ।
जेसीजले तालिम हलको समेत उद्घाटन गरेको छ । प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री हिराकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालिम हलको समेत उद्घाटन गरिएको प्रेस संयोजक चन्द्र बस्नेतले जानकारी दिए । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तीव्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले बताइन् ।