२०८३ असार ७ गते , आईतबार

मेचीनगरमा मात्रै ७३ वटा सीमा स्तम्भ गायब

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १६ गते , सोमबार
मेचीनगरमा मात्रै ७३ वटा सीमा स्तम्भ गायब
झापा । नेपाल-भारतको सिमाना छुट्ट्याउन राखिएका सीमा स्तम्भको वैज्ञानिक निरीक्षण तथा मर्मत सम्भार नहुँदा मेचीनगर क्षेत्रमा मात्रै ७३ वटा सीमा स्तम्भ हराएका छन् । जसका कारण नेपाली भूमि अतिक्रमणको जोखिममा परेको छ ।

सोमबार मेचीनगर नगरपालिकाले नगरभित्र भारतसँग सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमा स्तम्भको अवस्थाका बारेमा जानकारी लिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीसहित जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोलीले मेचीनगरको भारतसँगको खुला सिमाना करिब ३२ दशमलव ५ किलोमिटर क्षेत्रफलको स्थलगत अवलोकन गरेको थियो ।

मेचीनगरको सीमा सुदूर पूर्वको पनि भारतीय नाकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकाको सीमाको अवस्था कस्तो भन्ने जानकारी लिन र बुझ्न अनुगमन र अवलोकन गरिएको नगरप्रमुख आचार्यले बताए ।

अनुगमनका क्रममा नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीले भारतीय सुरक्षाकर्मीसँग समेत सीमा स्तम्भका बारेमा जानकारी लिएका छन् । टोलीलाई भारतीय सीमा सुरक्षा बल एसएसबी ८ नम्बर बटालियनका असई दिम्बु दासले स्तम्भका बारेमा जानकारी गराए ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी तिरिङ सारुगौँडा दुधेचौर पाटापुरका अनुसार मेचीनगर-१ अन्तर्गत आफ्नो क्षेत्रको साढे ६ किलोमिटर क्षेत्रफलमा नेपाल-भारत छुट्ट्याउने सबै खाले ३३ वटा स्तम्भ भए पनि ६ वटा बाहेक बाँकी स्तम्भ कुन अवस्थामा कहाँ छन् अत्तोपत्तो छैन । सशस्त्र प्रहरीका अनुसार अधिकांश स्तम्भहरू गायब छन् ।

केही पुरिएका छन्, केही चाहिँ खोलाले बगाएर लगिसकेको छ । सीमा स्तम्भ र सीमाका विषयमा हरेक महिनाको १ र १५ तारिख गरी मासिक २ पटक तथा आवश्यकता अनुसार नियमित नेपाल तथा भारतीय सुरक्षाकर्मीको संयुक्तरुपमा गस्ती हुने गरेको छ ।

तर, नेपाली सुरक्षाकर्मी भने स्तम्भका बारेमा बेखवर छ । ‘सीमामा दुई देशका सुरक्षाकर्मीको संयुक्त रुपमा गस्तीसमेत बेलाबेला हुन्छ,’ एक प्रहरी अधिकृत भन्छन्- ‘कतिपय बेला क्षेत्र तोकेर समेत गस्ती हुने गरेको छ ।’

झापामा नेपाल(भारत सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी पोस्ट वीओपी १८ वटा रहेका छन् । डेढदेखि करिब १२ किलोमिटरको फरकमा स्थापना गरिएको छ । उता भारतले भने सशस्त्र सीमा बल (एसएसबी) लाई करिब ५ किलोमिटरको फरकमा तैनाथ गरेको छ ।

भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यस कारण भारतले नेपाल तर्फको सीमा नाकाबाट आफ्नो उपस्थिति बढाउँदै लगेको स्थानीयको भनाई छ । भारतीय सीमा सुरक्षा बल ९एसएबसी० को उपस्थिति भने बाक्लो रुपमा रहेको छ ।

प्रत्येक १-२ किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको देख्न सकिन्छ । नेपाली सुरक्षाकर्मीको भने उपस्थिति निक्कै कम छ । स्रोत साधन र पर्याप्त जनशक्ति नभएका कारण नेपाली सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखाउन नसकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीले बताए ।

सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमा नाकामा पातलो रहने गरेको बताउँछन् । उनीहरू भन्छन्- ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी सक्रिय रहेको देखिन्छ ।’

सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छन् । भारततर्फ भने अर्धसैनिक बल, एसएसबीको दह्रो उपस्थिति रहने गरेको स्थानीयको भनाई छ । सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमा स्तम्भ मर्मत उसको कार्यक्षेत्र भित्र नपर्ने बताएको छ ।

‘सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो,’ एक प्रहरी अधिकारी भन्छन्( ‘सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ । अन्तर्देशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदानप्रदानका एजेन्डामा बेलाबेला बैठक पनि हुने गरेको छ ।’

यसैगरी, प्रसादगौँडाबाट माताचोकसम्म ६ किलोमिटरको दुरीमा ३४ वटा भए पनि २० वटा सीमा स्तम्भ हराएका छन् । १४ वटा पनि जीर्ण र मर्मत तथा सम्भारको प्रतिक्षमा छन् । वडा नम्बर-५ को माताचोकदेखि काल मन्दिरसम्मको डेढ किलो मिटर दुरीमा ११ वटा ८७/७ देखि ८८/१ सम्मका एघार वटा नेपाल-भारत छुट्ट्याउने सीमा स्तम्भ भए पनि ५ वटा गायब छन् । जसका कारण बेला बखत दुवै देशबिच सीमाकै कारण समस्या हुने गरेको छ । कालिमन्दिरदेखि मेची पुलसम्म आइपुग्दा ६ वटा स्तम्भ गायब छन् । त्यहाँ कुल १२ वटा सीमा स्तम्भ हुनुपर्ने हो ।

इलामको रोङ गाउँपालिकाको दुधेचौर पाटापुरदेखि मेचीनगर नगरपालिकाको सीमा भद्रपुर नगरपालिकाको भारतसँग सीमा जोडिएको मेची नदीको खुला नाका ३२ दशमलव ५ किलोमिटर क्षेत्रफलमा करिब २ सय २१ वटा सीमा स्तम्भ कायम गरिएको छ ।

तर, ती सबै सीमा स्तम्भहरू जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । भए पनि मुख्य, सहायक र सानो गरी १ सय ४८ वटा सीमा स्तम्भहरू दुखसुख जीर्ण अवस्थामा भेटिए पनि बाँकी ७३ वटा सीमा स्तम्भहरू गायब भएका छन् ।

बगाएको, पुरिएको अवस्थामा छन् । यी सीमा स्तम्भहरू कहाँ गए भन्ने स्पष्ट जानकारी कसैलाई पनि छैन । मेचीनगरसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्ला पर्दछ ।

नेपाल-भारत सीमा नाकामा रहेका सीमा स्तम्भहरू निरीक्षण गरेर फर्किएपछि अधिकांश स्तम्भहरू हराएको धेरै जीर्ण अवस्थामा रहेको नगरप्रमुख आचार्यले प्रतिक्रिया दिए । धेरै सीमा स्तम्भको पुनः निर्माण गर्नुपर्ने देखिएको उनको भनाई छ । फेला नपरेका, पुनः निर्माण, मर्मत गर्नुपर्ने काम सबै नेपाल-भारत दुवै देशका अधिकारी संलग्न टोलीले गर्नुपर्ने उनले बताए ।

९० प्रतिशतभन्दा बढी भागमा भारतले पुरानो र नयाँ गरी शतप्रतिशत बाँध निर्माण गरिसकेको छ । भारतले नदी उकास क्षेत्रमा विभिन्न जातका बिरुवा रोपिसकेको जसका कारण नदीका धारहरू नेपालतर्फ वहन थालेको नगर प्रमुख आचार्य बताउँछन् ।

भारतीयको यही कारण हरेक वर्ष नेपाली भूभाग कटानको जोखिममा परेको, नेपाली किसान र नेपाली भूभागमा अत्यधिक रुपमा क्षति पुग्ने गरेको छ । नेपालतर्फको भूभाग र सीमा स्तम्भको संरक्षण गर्न नेपाल सरकारले आफ्नो क्षेत्रमा बाँध निर्माण गर्नुपर्ने देखिन्छ ।

नगरपालिका भित्र खुला सीमा भएका कारण धेरै नोक्सान व्यहोर्नु परेको छ । त्यसै कारण नगरपालिकाले सीमा स्तम्भहरू र सीमा क्षेत्रको स्थलगत अवलोकन र निरीक्षण गरेको उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् । यसले नेपाल तथा भारतमा समस्या निम्त्याउने हुँदा दुवै देशका अधिकारीले संयुक्त निरीक्षण गरी हराएका सीमा स्तम्भको खोजी तथा मर्मत अभावमा नष्ट हुँदै गएका स्तम्भको उचित मर्मत तथा सम्भार गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार