२०८३ असार ७ गते , आईतबार
बिर्तामोडमा गुणस्तरहीन कालोपत्रे सडक मेयरको आदेशमा भत्काइयो
झापा । बिर्तामोड नगरपालिका- ८ स्थित प्रगतीनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ ।
नगरपालिका मेयर ध्रुवकुमार सिवाकोटीले शुक्रवार ग्रेडर लगाएर उक्त सडक भत्काउन लगाएका हुन् । इन्जिनियर, प्राविधिकसहित सडकमा पुगेका मेयर सिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाएका हुन् । गुणस्तरहीन कालोपत्रे गरेका कारण बाध्य भएर सडक जोत्नु परेको उनले बताए ।
मेयर सिवाकोटीले गुणस्तरीय सडक निर्माण गर्न नसक्ने ठेकेदारहरूले बिर्तामोडमा ठेक्का नहाल्न समेत आग्रह गरे । मापदण्ड विपरीत काम गर्नेहरूलाई बिर्तामोड नगरपालिकाले छुट नदिने भन्दै उनले सचेत रहन जोड दिए । नगरपालिकाबाट २५० मिटर लम्बाई,२० फुट चौडाइको यो सडक कालोपत्रे गर्नका लागि इलामको सिद्विथुम्का निर्माण सेवा प्रा.लिले १३ लाख ८५ हजार ३१२ रुपैयाँमा गत असार २ गते ठेक्का पाएको थियो ।
ठेक्का सम्झौताअनुसार योजना सम्पन्न गर्नका लागि २०७९ असार २ गते सम्मको लागि म्याद रहेको छ । गुणस्तरहीन कालोपत्रे भत्काएपछि स्थानीय खुसी भएका छन् ।