२०८३ असार ७ गते , आईतबार
ट्राफिक प्रहरीले हराएको एक लाख नगद र ल्यापटप सम्बन्धित धनीलाई बुझायो
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हराएको रकम र ल्यापटप सम्बन्धित धनीलाई बुझाएको छ । बिर्तामोडको मनमोहन अस्पतालबाट अटो रिक्सा चढेर देवी पञ्चकन्या जाने क्रममा बिर्तामोड–१ का रमेशकुमार झाको नगद एक लाख, ल्यापटप, मोटरसाइकलको ब्लूबुक र पसलको चाबीसहित भएको ब्याग हराएको थियो ।
सिसी क्यामेराको फुटेजका आधारमा अटो रिक्साको नम्बर पत्ता लगाएर सामान फिर्ता लिएर सामान धनी झालाई बुझाएको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईँले बताए । प्रहरीका अनुसार पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बाँस्कोटाले दिएको अटोको नम्बरको आधारमा चालकसँग सम्पर्क गरेको बताए ।
धनकुटा घर भई हाल शनिश्चरेमा बस्दै आएका यादव राईले चलाउँदै आएको मे १ ह ६५१६ नम्बरको अटोमा झाको सामान छुटेको थियो । चालक राईले छुटेको सामान सम्बन्धितलाई बुझाउनु आफ्नो दायित्व भएको बताए ।
“मैल राति अटो थन्क्याउने बेलामा झोला देखेँ”, उनले भने, “बिहान खबर आएपछि प्रहरीलाई बझाएको हुँ ।” ट्राफिक प्रमुख चापागाईँले चालकको इमानदारिताको प्रशंसा समेत गरे । ट्राफिकले चालू आर्थिक वर्षको छ महिनामा मोटरसाइकल, मोबाइल, पैसासहितको ब्याग लगायतका १२ वटा सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।