२०८३ असार ७ गते , आईतबार

बुस्टर डोज खोप दिने सरकारको तयारी

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २० गते , सोमबार
बुस्टर डोज खोप दिने सरकारको तयारी

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै एक करोड ५० लाख मात्रा बुस्टर डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले हाल नेपालमा ८३ लाख मात्रा खोप मात्र बाँकी रहेको बताउँदै निरन्तर खोप आइरहेको बताए । केही दिनअघि कोभिसिल्ड, मोर्डना खोप नेपाल आएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीले नेपालमा हाल कोभ्याक्स सुविधामार्फत खोप आएको जानकारी दिँदै त्यसबाहेक अनुदान र खरिदमार्फत दुई करोड ७३ लाख ५६ हजार ५३० डोज खोप नेपाल आयात गरिएको बताए । नेपालमा हालसम्म एक करोड ९० लाख मात्रा खोप प्रयोग भइसकेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले पहिले ७५ प्रतिशत नागरिकले खोप लगाइसकेपछि बुस्टर डोज लगाउन सकिने भन्दै बुस्टर डोज प्राथमिकताका आधारमा लगाइनुपर्ने बताए । परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेकलाल कर्णले भेरोसेल खोपको दुवै मात्रा पूरा गरेकालाई खोप लगाएको तीन महिनापछि बुस्टर डोज खोप लगाउन सकिने स्पष्ट पारे। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार