२०८३ असार ९ गते , मंगलबार

झापामा सर्पको बिगबिगी : एन्टिस्नेक भेनमको हाहाकार

sajilo news
झापा
२०८३ असार ९ गते , मंगलबार
झापामा सर्पको बिगबिगी : एन्टिस्नेक भेनमको हाहाकार

पानी पर्ने क्रम दैनिक बढेसँगै झापामा सर्पको बिगबिगी बढ्दै गएको छ । सबै जमिन पानीले भरिएसँगै सर्पले ओभानो स्थान खोज्दै घरगोठमा पस्न थालेपछि सर्पको टोकाइबाट बच्न उद्धारकर्ताहरूले सुझाव दिएका छन् । वर्षाको मौसममा विषालु सर्पको बिगबिगी बढेको छ ।

झापामा पनि विषालु सर्पका कारण धेरैले ज्यान गुमाउने गरेका कारण सचेत बन्नुपर्ने बताइएको छ । अत्यधिक गर्मीपछि भएको वर्षा र जलमग्न अवस्थाका कारण सर्पहरू सुरक्षित आश्रय खोज्दै बस्ती तथा घरभित्र प्रवेश गर्न थालेपछि स्थानीयमा त्रास बढेको हो ।

पछिल्लो केही सातायता झापाका विभिन्न पालिकाबाट विषालु तथा अविषालु सर्प फेला परेको सूचना बढ्दो क्रममा रहेको छ । खेतबारी, झाडी, गोठ तथा घर आसपासका स्थानमा सर्प देखिन थालेपछि स्थानीयले उद्धार टोली तथा सम्बन्धित निकायको सहयोग लिन थालेका छन् ।

वन तथा वन्यजन्तु संरक्षणकर्मीहरूका अनुसार वर्षायाममा सर्पको गतिविधि स्वाभाविक रूपमा बढ्ने गर्दछ । पानी परेपछि सर्पका वासस्थान डुबानमा पर्ने भएकाले उनीहरू सुख्खा र सुरक्षित स्थानतर्फ सर्ने गर्छन् । यही कारणले बस्ती क्षेत्रमा सर्प देखिने घटना बढ्ने गरेको उनीहरूको भनाइ छ । विशेष गरी धान रोपाइँका लागि खेतमा जाने किसान, घाँस दाउरा संकलन गर्ने तथा रातिको समयमा बाहिर हिँड्ने व्यक्तिहरू बढी जोखिममा रहने चिकित्सकहरू बताउँछन् । सर्पदंशका घटना पनि वर्षायाममा बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्यकर्मीहरूले सर्पले टोकेमा झारफुक वा घरेलु उपचारको भर नपरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न सुझाव दिएका छन् । स्थानीय तह, वन कार्यालय तथा उद्धारकर्मीहरूले घर वरिपरि झाडी सफा राख्न, मुसा नियन्त्रण गर्न, राति टर्चको प्रयोग गर्न तथा सर्प देखिएमा आफैँ समात्ने प्रयास नगरी उद्धार टोलीलाई खबर गर्न आग्रह गरेका छन् ।

वर्षायामसँगै झापामा सर्पको बिगबिगी बढ्दै जाँदा जनचेतना र सावधानी नै सर्पदंशबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय हुने सरोकारवालाहरूको भनाइ छ । आइतबार मात्रै दक्षिणी झापाको गौरीगञ्जमा विषालु सर्पले डस्दा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–४स्थित बाइसेटोल निवासी ८८ वर्षीया पञ्चमाया शेर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ साढे ६ बजे कुखुराको खोरको ढोका लगाउने क्रममा शेर्मालाई खोर छेउमा रहेको इँटाको चाङबाट विषालु सर्प निस्किएर दाहिने हातको माझी औँलामा डसेको थियो ।

घाइते पञ्चमायालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उनको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वर्षायाम शुरु भएसँगै सर्पको बिगबिगी हुने भएकाले सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

यसैबीच सर्पदंशका घटना सबैभन्दा बढी हुने वर्षाको मौसममा देशभर सर्पदंशको भ्याक्सिन (एन्टिस्नेक भेनम) को अभाव भएको छ । अत्यावश्यक जीवनरक्षक औषधिको रुपमा मानिने एन्टिस्नेक भेनम अभावका कारण तराईका क्षेत्रसहित देशभर समस्या भएको छ । सरकार भने सर्पदंशको उपचारका लागि आवश्यक एन्टिस्नेक भेनमको अभाव नरहेको दाबी गरिरहेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले सर्पदंशबिरुद्धको भ्याक्सिनको उपलब्धतामा चुनौती नरहेको दाबी गरे ।

उनले भ्याक्सिन आपूर्तिको लागि सम्झौता सम्पन्न भई सप्लायर्सहरूलाई भ्याक्सिन आपूर्ति गर्न भनिसकिएको बताए । उनले रेबिज र सर्पदंशविरुद्धका भ्याक्सिनहरू पाइपलाइनमा रहेको भन्दै अगामी आर्थिक वर्षमा आपूर्ति समस्या नहुने दाबी गरे । उनले भने– ‘सर्पदंश उपचारका लागि आवश्यक पर्ने सर्पदंश सम्बन्धी जुन भ्याक्सिन छ, त्यो भ्याक्सिनको उपलब्धतामा पनि धेरै ठूलो चुनौतीहरू छैनन् ।

यसमा पनि विश्वव्यापी बजारमा आएको मूल्य वृद्धि, मुद्रास्फीति सबैसँग जोडिएका विषयहरू रहने भए, यसमा चाहिँ अब यो हामीले विगतमा समयमै टेन्डर गरेर उपलब्ध हुन अलिकति गाह्रो भएको अवस्थामा अहिले टेन्डर भएर टेन्डर पनि फाइनल भएर सम्झौताका लागि जसले सप्लाई गर्नुहुन्छ, उहाँहरूलाई समन्वय गरेर उपलब्ध गराउनका लागि भनिसकिएको छ ।’

उनले भने– ‘१३ हजार दुई सय भायल जति आउने पाइपलाइनमा छ, त्यो अगाडि बढ्छ । अहिले पनि हामीसँग स्टोरहरूमा शून्य नै भएको अवस्था होइन । हामी कहाँ एन्टीरेबिज भ्याक्सिनहरू पनि केही मात्रामा छन् र आउने पाइपलाइनमा अहिले हिजो मात्रै पनि आएर अगाडि बढेको अवस्था छ भने एन्टिस्नेक भेनमको हकमा पनि सर्पदंश भइसकेपछि लगाउने जुन खोप छ, त्यो खोप पनि हामीसँग उपलब्ध छ ।

विभिन्न सर्पदंश उपचार गर्ने केन्द्रहरूमा पनि उपलब्ध रहेको छ ।’ डा. अधिकारीले एन्टीरेबिज भ्याक्सिनलगायत अत्यावश्यक औषधिको आपूर्तिमा समस्या देखिएपछि सरकारले सार्वजनिक खरिद प्रक्रियालाई सहज बनाउन कानूनी व्यवस्था परिमार्जनको काम शुरु गरेको बताए ।

मनसुनको समयमा विशेष गरी तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाबाट बर्सेनि सयौँ नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन् । यही गम्भीरतालाई मध्यनजर गरी सरकारले अगामी आर्थिक वर्षमा भ्याक्सिनको अभाव हुन नदिने गरी कार्य गरिरहेको अधिकारीको भनाइ छ ।

सम्बन्धित समाचार