सुनसरीमा डाक्टरले चलाएको कारले ठक्कर दिँदा प्रहरीका वरिष्ठ सईको मृत्यु
सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । दुर्घटनामा संलग्न कार चालक रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजेतिर दुर्घटना भएको हो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार विराटनगरबाट बर्जु गाउँपालिकाको चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भएका अन्दाजी ५० वर्षीय लालकुमार यादव गम्भीर घाइते भएका थिए । उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिए पनि उपचारकै क्रममा दिउँसो ४ः१६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार उनकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवस्था सामान्य रहेकी उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ । मृतक यादव यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए । उनले आफ्नो दरबन्दी कायम भएको जिल्ला प्रहरी कार्यालय सिराहामा जान असार ६ गते रमाना लिएका थिए ।
त्यसअघि बारामा कार्यरत रहँदा सई (प्रहरी नायब निरीक्षक) बाट वरिष्ठ सईमा बढुवा भएका उनको दरबन्दी सिराहा भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रवाना बुझेर बाराबाट हिँडेको भए पनि उनी सिराहामा हाजिर भइसकेका थिएनन् । कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी अन्दाजी ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ ।
रेडियोलोजिस्ट रहेका उनी नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्ष समेत रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट एक्स–रे सेवा प्रदान गर्न बर्जुको चिमडी बजारतर्फ जाने क्रममा उनी आफैंले चलाएको ईभी कारले दुर्घटना गराएको पत्ता लागेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला कार तीव्र गतिमा गुडिरहेको थियो । कारले ठक्कर दिनासाथ मोटरसाइकलमा आगलागी समेत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयको सक्रियतामा आगो तत्काल नियन्त्रणमा लिइएको थियो ।