‘शुद्ध नृत्य युद्ध’ को ग्रान्ड फिनाले सम्पन्न, ओमालिशा मेचे विजेता
भद्रपुर । झापाको भद्रपुरमा आयोजित ‘शुद्ध नृत्य युद्ध – द प्युरेस्ट डान्स शो डाउन’ को भव्य ग्रान्ड फिनाले शनिबार सम्पन्न भएको छ। प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै भद्रपुरकी ओमालिशा मेचे विजेता घोषित भइन्। नृत्यालय स्कुल अफ डान्स भद्रपुरको आयोजनामा भएको प्रतियोगितामा बिर्तामोडकी स्रष्टा राउत पहिलो रनरअप र हल्दिबारीकी सन्दिपा नेम्बाङ दोस्रो रनरअप बन्न सफल भइन्।
विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार क्रमशः क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो। जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा बनियानी, भद्रपुर, चन्द्रगढी, गोलधाप तथा बिर्तामोडबाट ७० जना प्रतिस्पर्धी छनोट भएका थिए । दोस्रो राउन्डमा तीमध्ये ३६ जना छनोट भई जेठ १६ गते सम्पन्न सेमिफाइनल राउण्डमा टप १० फाइनलिस्ट छनोट भएको स्कुल अफ डान्स फाउन्डर सक्षम तामाङले जानकारी दिए । नृत्यालयको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले यस्ता सांस्कृतिक प्रतियोगिताले युवाहरूको प्रतिभा उजागर गर्न र कला क्षेत्रप्रति आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताए । कार्यक्रममा भद्रपुर–२ का वडा अध्यक्ष राम कँडेल, शिवराजकुमार भण्डारी, ज्ञान सरोवरका प्रिन्सिपल कृष्णराज पौडेल, कार्कीज केक चारआलीका सञ्चालक विकास कार्की, ग्रीनफिल्ड इङ्लिस स्कूलका प्रिन्सिपल सन्देश राई, होलील्याण्ड इङ्लिस स्कूलकी प्रिन्सिपल ललिता राई लगायतको सहभागिता रहेको थिए। कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा ज्ञान सरोवर निकेतन स्कूलका उप–प्राचार्य राजेश क्षेत्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गरे।