२०८३ जेष्ठ ३१ गते , आईतबार

भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार

sajilo news
झापा
२०८३ जेष्ठ ३१ गते , आईतबार
भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार

भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षका लागि औपचारिक रुपमा कार्यभार सम्हालेको छ । शनिबार भद्रपुर–८ स्थित होटल एयरपोर्टको सभाहलमा प्रमाणपत्र ग्रहण, शपथ ग्रहण तथा पदस्थापनसँगै यही जेठ ९ गते सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको हो ।

भद्रप’र झापा गोल्डकपका संरक्षक, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा गोल्डकपको निर्वाचन समितिले आयोजना गरेको समारोहका अध्यक्ष निर्वाचन समितिका संयोजक दीपेन्द्र भट्टराईले गोल्डकपका नवनिर्वाचित पदाधिकारी–सदस्यहरूलाई विजयीको प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै नवनिर्वाचित अध्यक्ष दीपेश ढकाललाई शपथ गराएका थिए भने अध्यक्ष ढकालले अन्य पदाधिकारी–सदस्यहरूलाई शपथ गराएका थिए ।

समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, भद्रपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, गोल्डकपका प्रमुख सल्लाहकार एवम् नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष टिकाराज ढकालले नवनिर्वाचित कार्यसमितिलाई बधाइसहित शुभकामना मन्तव्य राखेका थिए भने नवनिर्वाचित अध्यक्ष ढकालले प्रतिबद्धता मन्तव्य राखेका थिए । समारोहमा भद्रपुर नगरपालिका ५ नं वडाध्यक्ष बन्धु कार्की, ६ नं वडाध्यक्ष रतिया राजवंशी ८ नं वडाध्यक्ष गौरव सुब्बा र ९ नं वडाध्यक्ष रामप्रसाद दाहाललगायतको आतिथ्य थियो ।

निर्वाचन समितिका सदस्य एवम् भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य रोहित काफ्लेले सञ्चालन गरेको समारोहमा निर्वाचन समितिका सदस्य गोपाल गिरीले स्वागत गरेका थिए ।

भद्रपुर झापा गोल्डकपको यही जेठ ९ गते सम्पन्न अधिवेशनमा निर्वाचन प्रक्रियाबाट अध्यक्षमा दीपेश ढकाल, वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षहरूमा वसन्त बानियाँ, गौरव सुब्बा, बाबुराम पराजुली र डिल्लीराम घिमिरे ‘हिक्मत’, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहल दास मैनाली र तीर्थराज ढकाल, सह सचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला र सह कोषाध्यक्षमा नितेश वर्मा निर्विरोध निर्वाचित भएका थिए भने सदस्यमा कुमार श्रेष्ठ, कुमार गिरी, भरतचन्द्र गुरुङ, प्रज्वल राई, अर्जुन राई, टेकबहादुर गुरुङ, बिक्की जैसवाल कल्वार, शमशेर तामाङ, पूर्णमाया सुब्बा, खोमाकुमारी दाहाल, तोयानाथ गड्तौला, कविन राई, रियाज ढकाल, निरासव प्रधान र मुकेश मित्रुका निर्विरोध चयन भएका थिए ।

पदभार ग्रहणपछि गोल्डकपको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक होटल एयरपार्टमै सम्पन्न भएको छ । अध्यक्ष दीपेश ढकालको अध्यक्षतामा बसेको बैठकले आगामी फागुनमा सञ्चालन हुने भद्रपुर झापा गोल्डकपको तेस्रो संस्करणको तयारी, टिम सहभागितालगायतका विभिन्न पाँच बुँदामा निर्णय भएको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार