२०८३ जेष्ठ ३१ गते , आईतबार

रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

sajilo news
झापा
२०८० बैशाख १२ गते , मंगलबार
रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

झापा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् ।
वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।
वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याएका छन् । अन्तिम मतपरिणाम नआई जित सुनिश्चित गरेका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याएका हुन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो ।
पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।
यस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन सकेनन् । त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।
कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले ‘तीन पुस्ता’ को पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट गत चैत १६ मा मात्र अलग भएको घोषणा गरेका थिए। उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने उद्देश्यका साथ वाग्लेले कांग्रेस छाडेका थिए । रास्वपा सभापति रवि लामिछानेले पनि चुनावी प्रचारप्रसारमा वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । वाग्ले आफैं पनि सांसदमा विजयी भए राजनीति संग्ल्याउने र अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै आएका थिए ।

सम्बन्धित समाचार