एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु
झापा । झापामा एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी २३ वर्षीय राजेश कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
घाइते कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको डिएसपी पाठकले बताए । प्रहरीका अनुसार साउन ४ गते दिउँसो २ कनकाई नगरपालिका- ३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ गई रहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आई रहेको प्र १-०१-०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक कार्की र सोही स्कुटरको पछाडि उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका थिए । घाइतेमध्ये चालक कार्कीलाई बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारका लागि पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । यता एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड- १० निवासी ४६ वर्षीय चन्द्र बहादुर बिकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।