मानव बेचबिखन तथा ओसारपसार देशको विद्यमान समस्या बन्दै
मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार देशको विद्यमान समस्या बन्दै गइरहेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिवार आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको अवगत गराउँदै यस क्षेत्रलाई निरुत्साहित बनाउन सबै लागि पर्नु पर्नेमा जोड दिए ।
देशमा बेरोजगार तथा नेपाल-भारत खुल्ला सिमाना भएका कारण रोजगारीको विभिन्न प्रलोभनमा परी नेपालीहरू भारतलगायतका अन्य देशमा बेचिने गरेका छन् । उनले भने, स्थानीय क्षेत्रमा नै प्रशस्त रोजगारीको अवसर सिर्जना गर्नसके धेरै हतसम्म यो समस्या तुरुन्त हल गर्न सकिन्छ ।
कार्यक्रममा बोल्दै माइती नेपाल क्षेत्रीय कार्यालय काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरे, शक्ति समूह काँकडभिट्टाकी प्रमुख रत्ना श्रेष्ठ, विश्व सेवा विस्तार काँकडभिट्टाकी प्रमुख अनिता गुरागाईँ, आफन्त नेपाल काँकडभिट्टाकी प्रतिनिधि अञ्जली तामाङ, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठलगायतले यो सामूहिक समस्या भएकाले यसको समाधानका लागि सरकार, सङ्घसंस्था, नागरिक समाज सबै लागि पर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्त प्रकाश बस्तीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत रोट्रयाक क्लब अफ मेचीनगरका अध्यक्ष विशाल कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ मेचीनगरका सचिव कृष्ण काफ्लेले गरेका थिए ।