२०८३ असार १० गते , बुधबार

झापामा चार्टर्ड एकाउन्टेन्टस्हरु सङ्गठित, अध्यक्षमा अग्रवाल

sajilo news
झापा
२०७९ श्रावण १३ गते , शुक्रबार
झापामा चार्टर्ड एकाउन्टेन्टस्हरु सङ्गठित, अध्यक्षमा अग्रवाल

रोहित काफ्ले/ भद्रपुर । सङ्ख्या बढ्दै गएपछि झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु सङ्गठित भएका छन् । झापाको बिर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टस्हरुको आज सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ झापा शाखा गठन गरेको हो ।
१ नं प्रदेशकै पहिलो चार्टर्ड एकाउन्टेन्ट्स झापा बिर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा सङ्घ गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईँ, सचिवमा गंगाराम बस्नेत र कोषाध्यक्षमा राहुल साहेवाला हुनुहुन्छ भने श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समीर सङ्ग्रौला सदस्य रहेका छन् ।
पेसागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्राविधिक विकासका बारे अन्तरक्रियात्मक ढङ्गले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्ने गरी झापामा सङ्घ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।
अग्रवालकै अध्यक्षतामा आयोजित भेलाको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले गरेका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवाललाई पाण्डेले शपथ खुवाएका थिए भने कार्यसमितिका अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष अग्रवालले शपथ गराएका थिए । 
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै प्रमुख अतिथि पाण्डेले चार्डर्ड एकाउन्टेन्टस्हरुको सङ्ख्यामा गुणात्मक वृद्धि हुँदै गएकोले देशैभरि यसको सञ्जाल विस्तार गर्न थालिएको बताए । उनले उद्योग–व्यवसाय क्षेत्रमा कर प्रणाली र लेखा प्रणालीको अहम् र महत्त्वपूर्ण भूमिका रहने भएकोले यी विषयमा स्वयम् उद्योगी–व्यवसायी पनि जानकार हुनुपर्ने बताए । 
कार्यक्रममा सङ्घका केन्द्रीय सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सार प्रमुख केशवराज ओली, सङ्घको प्रदेश नं १ का प्रमुख मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एसोसिएसन झापाका अध्यक्ष होमनाथ उप्रेती, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटीलगायते शुभकामना मन्तव्य राख्दै सङ्घले कर तथा लेखा प्रणालीको आवश्यकता र महत्त्वलाई थप उजागर गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा आर्थिक ऐन २०७९ र नेपाल राष्ट्र बैङ्कले भरखरै सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा अन्तरक्रियात्मक चर्चा गरिएको थियो । आर्थिक ऐनका सम्बन्धमा अर्थ विज्ञ शेषमणि दाहालले प्रस्तुति दिनुभएको थियो भने मौद्रिक नीतिका सम्बन्धमा एक्सेल डेभलपमेन्ट बैकका कार्यकारी प्रमुख इन्द्र कट्टेल र बैंकर्स एसोसिएसन झापाका अध्यक्ष सुवास श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए । यस पटकको मौद्रिक नीति कसिलो भएकोले उद्योगी–व्यवसायीका लागि केही चुनौतीपूर्ण रहेको उनले औँल्याइएका थिए । 
सहभागी उद्योगी–व्यवसायीले भने यस पटकको मौद्रिक नीतिले उद्योग–व्यवसाय नराम्ररी प्रभावित हुनसक्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् । 

सम्बन्धित समाचार