कचनकवल घटना : तीन किशोरीको परिवारलाई आर्थिक सहयोग
एउटै रुखमा झुन्डिएका तीन किशोरीको आर्थिक अवस्था कमजोर रहेको उनीहरूको परिवारजनलाई धमाधम आर्थिक सहयोग जुट्न थालेको छ ।
सोही क्रममा मृतकका परिवारलाई क्रिया खर्चमा समस्या देखिएको भन्दै काठमाडौँ महानगरपालिका ६ स्थित चुच्चेपाटी निवासी सुमन दाहालले ३० हजार रकम पठाएका छन् । समाजसेवी दाहालले जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकसँग समन्वय गरी प्रतिपरिवार १० हजारको दरले रकम पठाएका हुन्। झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्माले सहजीकरण गरी बिहीबार घरघरमै पुगेर मृतकका परिवारलाई सो रकम हस्तान्तरण गरेका छन्।
]दाहालले मृतक परिवारको दयनिय आर्थिक अवस्थाको बारेमा सञ्चारमाध्यममा समाचार पढेपछि रकम पठाएको थियो । गत साउन ८ गते आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका- ५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको रुखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १७ वर्षीया छोरी कल्पना कुमारी झुन्डिएको अवस्थामा मृत फेला परेको थियो। मृतक तीनै किशोरी चिया बगानमा मजदुरी गर्थिन । उनीहरूले कमाएको पैसाले परिवार चल्थ्यो । उनीहरूको परिवारजनमा अहिले आर्थिक समस्या झन् बढेको छ ।